काठमाडौं । सूचना तथा सञ्चारमन्त्री बिक्रम तिमिल्सिनाले संघीय संरचनाअनुसार सञ्चार क्षेत्रको पुनर्संरचना, कानुनी सुधार र तीन तहका सरकारबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताएका छन्।
सूचना तथा सञ्चार क्षेत्रसम्बन्धी विषयगत समितिको बैठकमा बोल्दै मन्त्री तिमिल्सिनाले बदलिँदो प्रविधि र समयअनुसार विद्यमान कानुनी व्यवस्था परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गरे। उनले संसदमार्फत आवश्यक कानुन निर्माणलाई प्राथमिकतामा राखिने र सेवा प्रवाहलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य बढाइने बताए।
बैठकले सञ्चार क्षेत्रका संरचनागत समस्या समाधान, पुराना कानुन संशोधन, अनलाइन सञ्चारमाध्यम व्यवस्थापन, एकीकृत डाटाबेस प्रणाली विकास, हुलाक सेवाको आधुनिकीकरण तथा विज्ञापन प्रणालीलाई पारदर्शी बनाउनेलगायत विषयमा महत्वपूर्ण निर्णय गरेको छ।
साथै, सञ्चारमाध्यम दर्ता तथा नवीकरण प्रक्रियालाई सहज बनाउन कानुनी सुधार अघि बढाउने, डिजिटल सेवा विस्तार गर्ने र मिथ्या सूचना नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ।