काठमाडौं । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज फेरि ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण (डिपोजिट कलेक्सन) मार्फत रकम बजारबाट झिक्ने भएको छ।
केन्द्रीय बैंकले दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गर्ने जनाएको छ। यसमार्फत बैंक तथा वित्तीय संस्थाहरूले प्रतिस्पर्धी ब्याजदरमा राष्ट्र बैंकमा रकम निक्षेप राख्ने अवसर पाउनेछन्।
राष्ट्र बैंकका अनुसार न्यूनतम १० करोड रुपैयाँदेखि तोकिएको सीमा अनुसार बोलकबोल गर्न सकिनेछ भने उपकरण २३ दिन अवधिको हुनेछ। संकलित रकमको साँवा र ब्याज असार १९ गते भुक्तानी गरिनेछ।
पछिल्ला साताहरूमा कर्जाको माग कमजोर हुँदा बैंकिङ प्रणालीमा तरलता अत्यधिक बढेपछि केन्द्रीय बैंकले निरन्तर यस्ता उपकरण प्रयोग गर्दै आएको छ। यसले अन्तरबैंक ब्याजदर नियन्त्रणमा राख्दै बजार सन्तुलन कायम गर्ने उद्देश्य लिएको हो।
विश्लेषकहरूका अनुसार दीर्घकालीन रूपमा कर्जा प्रवाह बढाउन नसकिए तरलता व्यवस्थापन मात्र पर्याप्त नहुने र आर्थिक गतिविधि विस्तार मुख्य चुनौती रहने देखिन्छ।