Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अमेरिकासँग ६ वटा हेलिकप्टर माग्दै नेपाली सेना, १५ अर्ब रुपैयाँ बराबरको प्रस्ताव

अमेरिकासँग ६ वटा हेलिकप्टर माग्दै नेपाली सेना, १५ अर्ब रुपैयाँ बराबरको प्रस्ताव

काठमाडौँ । नेपाली सेनाले विपद् व्यवस्थापन र उद्धार क्षमता विस्तारका लागि अमेरिकासँग ६ वटा वेल हेलिकप्टर माग गर्दै प्रस्ताव पठाएको छ।

सेनाले रक्षा मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयमार्फत करिब १० करोड अमेरिकी डलर (१५ अर्ब १८ करोड रुपैयाँ) बराबरका हेलिकप्टर उपलब्ध गराउन आग्रह गरेको हो। सेनाका अनुसार नेपालको भौगोलिक अवस्था, मानवीय सहायता र आवश्यकताका आधारमा हेलिकप्टर माग गरिएको हो।

प्रस्तावित ६ हेलिकप्टरमध्ये दुईवटा डबल इन्जिन र चारवटा सिङ्गल इन्जिनका हुनेछन्। डबल इन्जिन हेलिकप्टरमा आगलागी नियन्त्रणका लागि ‘फायर फाइटिङ’ सुविधा रहनेछ, जुन हाल नेपाली सेनासँग छैन।

अन्य हेलिकप्टर उच्च हिमाली क्षेत्रसम्म उद्धार तथा विपद् प्रतिकार्यका लागि प्रयोग गरिनेछन्। सेनाले सन् २०२८ सम्म हेलिकप्टर नेपाल आइपुग्ने गरी प्रस्ताव गरेको छ भने पाइलट तालिम र दुई वर्षसम्मको मर्मत खर्चसमेत अमेरिकासँग माग गरेको छ।

यसअघि पनि अमेरिकाले नेपाली सेनालाई विपद् व्यवस्थापनका लागि दुईवटा ‘एम २८ स्काई ट्रक’ विमान अनुदान सहयोगस्वरूप उपलब्ध गराएको थियो।