Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

बिदेशिएका युवाहरुलाई गाउँ फर्काउ अभियान सहितको महोत्सवमा प्रकाश सपुत देखि कृष्ण कंडेल सम्म काभ्रेमा

बिदेशिएका युवाहरुलाई गाउँ फर्काउ अभियान सहितको महोत्सवमा प्रकाश सपुत देखि कृष्ण कंडेल सम्म काभ्रेमा

अधिकांश खेतबारी बाँझो । पटपटी फुटेका खेतका गह्रा । कतै बुट्यान । कतै उजाड । युवा भेटिन मुश्किल । साना बालबालिका र ज्येष्ठ नागरिक मात्र । कतिपयको घरमा ताला लागेको छ । अवसर र रोजगारीको खोजीमा युवाहरू कोही काठमाडौं त कोही खाडी मुलुक भाँसिएका छन् ।

काठमाडौंबाट नजिकको जिल्ला काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका पुग्नुभयो भने यिनै दृश्यले मथिङ्गल हल्लाउँछन् ।

दोलालघाटदेखि मादनकुँडारीसम्म ३५ किलोमिटर सडक बनेको २० वर्षभन्दा बढी भयो । तर, अहिलेसम्म पिच भएको छैन । वर्षाको समयमा हरेक वर्ष जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य छन् । त्यसैले चौंरीदेउरालीलाई ‘काभ्रेको कर्णाली’ उपनाम दिइएको छ ।

तर, आइतबार चौरीदेउराली गाउँपालिकामा भने फरक दृश्य देखियो । गाउँका कुनाकुनाबाट बालबालिकादेखि जेष्ठ नागरिक भेला भएका थिए ।

स्वर्णिम सरस्वती फाउन्डेसनले ‘चौरीदेउराली गाउँपालिका महोत्सव’को आयोजना गरेको थियो । महोत्सवमा सहभागी हुन पञ्चेबाजासहित सर्वसाधारण घण्टौं हिँडेर आएका थिए । आफैंले जिताएका सांसद, जनप्रतिनिधिको भाषण सुन्न र राष्ट्रिय कलाकारहरुको मनोरञ्नात्मक प्रस्तुति हेर्न स्थानीयको भीड लागेको थियो । गाउँपालिकको प्राङ्गण खचाखच भरिएको थियो ।

प्रमुख अतिथि प्रदेश तीनका प्रदेश प्रमुख विष्णु प्रसाईं, विशेष अतिथि प्रतिनिधिसभा सदस्य गंगाबहादुर दोङ, प्रदेश सांसद रत्न ढकाल, गाउँपालिका अध्यक्ष दिनानाथ गौतम, उपाध्यक्ष ताराकुमारी चौंलागाईलगायतका नेता उपस्थित थिए ।

तत्कालीन एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका पूर्व उपाध्यक्ष दीपक गौतमले मन्तव्य राख्दै भने, ‘चौरीदेउराली गाउँपालिका मान्छे मरेर सन्नाटा छाएको घरजस्तै छ । विकासमा पछाडि परेको छ । हामी काभ्रेको कर्णालीमा छौं । गाउँका दाजुभाइ दिदीबहिनी खाडी मुलुकमा छन् । हाम्रा खेतबारी बाँझै छन् । अनाज उत्पादन हुनै छाड्यो ।’ उनले मन्तव्य राख्दै गर्दा हजारौं दर्शक रहेको चौरमा सन्नाटा छाएको थियो ।

गौतमले थपे, ‘२० वर्षे विद्यार्थी आन्दोनलबाट विदा लिएर गाउँमा फर्किएको छु । विदेशमा रहेका युवालाई गाउँमै फर्काउने अभियानस्वरुप आफैंले भैंसी, बाख्रा, कुखुरा र माछापालन सुरु गरेको छु । कृषि क्रान्ति गर्न गाउँ फर्किएको युवा हुँ । युवा गाउँमा नफर्कने हो भने हाम्रो बस्ती सधैं उजाड हुन्छ । खाडीमा रहेका युवाहरु पनि आउनुहोस्, आफ्नो गाउँलाई हामी आफैं सुन्दर बनाउँ ।’

अघिको सन्नाटा चिर्दै कार्यक्रमस्थल तालीको गडगडाहटले गुञ्जायमान भयो । भ्रमण वर्ष २०२० र युवालाई स्वदेश फर्किन प्रोत्साहन गर्नका लागि गाउँपालिका महोत्सव आयोजना गरिएको गौतमले बताए ।

प्रमुख अतिथि प्रदेश प्रमुख प्रसाईंले गौतमको भनाइमा सहमति जनाउँदै थपे, ‘पर्यटकीय नगरी भएर पनि विकासमा पछाडि पर्नु विडम्बना हो । यहाँ के आवश्यक छ ? सांसद र जनप्रतिनिधिमार्फत् योजना ल्याउनुहोस् । प्रदेशबाट सक्दो सहयोग गर्न पहल गर्छु ।’

त्यस्तै, प्रतिनिधिसभा सदस्य गंगाबहादुर दोङले कोसीपारीको विकासका लागि बृहत रुपमा योजना बनाएर काम गर्ने बताए ।

त्यस्तै, प्रदेश सांसद रत्न ढकालले कोशीपारीको मूल समस्य सडक रहेको बताए ।

‘सडकको अवस्था दयनीय छ । केही वर्षभित्र कालोपत्रेको काम सक्नेछौं । सडक कालोपत्रे गरेर पर्यटकीय नगरी बनाउँछौं,’ ढकालले भने ।

गाउँपालिकाका अध्यक्ष दीनानाथ गौतमले चौरीदेउरालीको विकासका लागि सहयोग गर्न प्रदेश र केन्द्र सरकारलाई आग्रह गरे ।

‘भ्रमण वर्ष २०२० लाई लक्षित गरेर महोत्सवको आयोजना गरिएको हो । सडकका कारण यहाँसम्म आइपुग्न कठिन छ । प्रदेश र केन्द्र सरकारले सहयोग गर्नुपर्‍यो,’ उनले भने ।

कालाकारसँग झुमे जनता

टाढाटाढाबाट लामो यात्रा गरेर आएका जनता कलाकारको सांस्कृतिक प्रस्तुतिमा झुमेका थिए ।

गायक कृष्ण कँडेल नेतृत्वको इन्द्रेणी टोली, लोकप्रिय गायक प्रकाश शपुत, अमृत सापकोटा, सरोज लामिछाने, गायिका मञ्जु गौतम, शोभा त्रिपाठीलगायत स्थानीय कलाकारहरूले पनि आफ्नो प्रस्तुति राखेका थिए ।