Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

भारतमा पहिलो डेंगी खोपलाई स्वीकृति

भारतमा पहिलो डेंगी खोपलाई स्वीकृति

काठमाडौं । भारत सरकारले पहिलोपटक देशमा डेंगीविरुद्धको खोप प्रयोग गर्न स्वीकृति दिएको छ । भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठन (सीडीएससीओ)ले जापानी औषधि कम्पनी ‘टाकेडा’को ‘क्युडेंगी’ खोपलाई ४ देखि ६० वर्ष उमेर समूहका मानिसमा डेंगी रोकथामका लागि प्रयोग गर्न अनुमति दिएको हो । 

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिताको विस्तृत समीक्षा गरेपछि यो स्वीकृति दिइएको हो । ‘क्युडेंगी’ खोपका दुई मात्रा तीन महिनाको अन्तरालमा लगाइन्छ ।

मन्त्रालयका अनुसार यो खोपले डेंगी भाइरसका सबै चारवटा सेरोटाइपविरुद्ध सुरक्षा प्रदान गर्छ । ‘क्युडेंगी’ले युरोपेली संघ, बेलायत, स्विट्जरल्यान्ड र इन्डोनेसियासहित ४२ देशमा स्वीकृति पाइसकेको छ । यसले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को ‘प्रिक्वालिफिकेसन’ पनि प्राप्त गरेको छ । 

हालसम्म विश्वभर यसको दुई करोड ४० लाखभन्दा बढी मात्रा वितरण भइसकेको छ । सुरक्षासम्बन्धी कुनै ठूलो चिन्ताजनक समस्या देखिएको छैन । टाकेडाले भारतमा उत्पादन क्षमता विस्तार गर्न खोप निर्माता कम्पनी ‘बायोलोजिकल ई’सँग सहकार्य गरेको छ ।

डेंगीको बढ्दो संक्रमणबीच यो स्वीकृतिलाई भारतका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको करिब आधा जनसंऋख्या डेंगीको जोखिममा छ । प्रत्येक वर्ष १० करोडदेखि ४० करोडसम्म संक्रमणका घटना हुने अनुमान गरिएको छ । 

भारतमा सन् २०२१ यता १० लाखभन्दा बढी डेंगीका संक्रमण पुष्टि भएका छन् । कम्तीमा एक हजार ५०० जनाको मृत्यु भइसकेको छ ।

यसैबीच, भारतीय कम्पनी ‘प्यानासिया बायोटेक’द्वारा विकास गरिएको डेंगी खोप ‘डेंगीअल’ अन्तिम चरणको क्लिनिकल परीक्षणमा छ । यसले स्वीकृति पाएमा विश्वकै प्रारम्भिक ‘सिंगल डोज’  डेंगी खोपहरूमध्ये एक बन्न सक्ने अपेक्षा गरिएको छ । द हिन्दु