Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाल विद्यालय कर्मचारी परिषद्का कर्मचारीद्वारा आजदेखि भदौ १८ गतेसम्मका लागि सामुदायिक विद्यालय बन्द आह्वान

नेपाल विद्यालय कर्मचारी परिषद्का कर्मचारीद्वारा आजदेखि भदौ १८ गतेसम्मका लागि सामुदायिक विद्यालय बन्द आह्वान

काठमाडौँ । राज्यसँग विभिन्न माग राख्दै भदौ १ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा रहेका नेपाल विद्यालय कर्मचारी परिषद्का कर्मचारीले आजदेखि भदौ १८ गतेसम्मका लागि सामुदायिक विद्यालय बन्द आह्वान गरेका छन्।

कर्मचारीले गत साउन २२ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा ज्ञापन पत्र बुझाएर विगतमा सरकार र कर्मचारीबीच भएको सम्झौता कार्यान्वयनमा आउनुपर्ने लगायत माग राखेका थिए। तर आफूहरूको मागको विषयमा सरकारले बेवास्ता गरेको भन्दै भदौ एक गतेदेखि देशभरका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी भौतिक रूपमा नै काठमाडौं जम्मा भएर सडक संघर्ष गर्दै आइरहेका छन्।

सरकारले उनीहरूसँग वार्ता गर्ने वा उनीहरूको मागको विषयमा जिम्मेवार तरिकाले नआएका कारण पूर्व निर्धारित कार्यक्रम अनुसारआज देखि देशैभरका सामुदायिक विद्यालयमा बन्द आह्वान गरिएको नेपाल विद्यालय कर्मचारी परिषद् पर्वतका अध्यक्ष पदमलाल गौतमले बताए।

विद्यालय कर्मचारीहरूको मागमा राजनीतिक दलमा शुभेच्छा राख्ने शिक्षकहरूका पेशागत संगठनले पनि ऐक्यबद्धता जनाउँदै आएका छन्। कर्मचारीको आन्दोलन सुरु भएकै दिनदेखि उक्त आन्दोलनमा आफूहरूको पनि समर्थन र ऐक्यबद्धता रहेको भन्दै नेपाली काँग्रेसको शुभेच्छुक नेपाल शिक्षक संघ र नेकपा एमालेको शुभेच्छुक नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले विज्ञप्ति जारी गरेका थिए। विद्यालय कर्मचारीहरूको मागको विषयमा राज्यले बेवास्ता गरेका कारण उनीहरू लामो समयदेखि समस्यामा रहँदै आएको ती संगठनहरूले बताउँदै आएका छन्।

विद्यालयमा रहेका विभिन्न समस्याहरूको हल गर्न राज्य तयार हुनुपर्ने बताउँदै आएका शिक्षकका पेशागत संगठनहरूले आफ्नो आन्दोलनमा ऐक्यबद्धता जनाएका कारण विद्यालय बन्द गरेर सरकारलाई ब्यूझाउँने काममा पनि समर्थन गर्ने परिषद् पर्वतका अध्यक्ष गौतमले बताए।