काठमाडौँ । चाडपर्व लक्षित सहुलियत पसल आउँदो असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा सञ्चालन हुने भएका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज १ देखि कात्तिक १५ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने तयारी भएको जनाएको छ । कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डीडीसी) बाट एकीकृत रुपमा सुपथ पसल खुल्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नायब महाप्रवन्धक श्रीमणिराज खनालले जानकारी दिए ।
उनका अनुसार काठमाडौँ उपत्यकामा कम्पनीका शाखा रामशाहपथ, थापाथली, सूर्यविनायक र नख्खुमा सहुलियत उपलब्ध हुनेछ । काठमाडौँ उपत्यकाबाहिर खाद्यसामग्री वितरण केन्द्रमा छुट उपलब्ध हुनेछ । त्यस्तै साल्ट ट्रेडिङ र डीडीसीले आ–आफ्ना शाखा तथा क्षेत्रमा पनि उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउनेछन् ।
सहुलियत पसलमा बिक्री हुने खाद्य सामग्रीमा दुई रुपैयाँदेखि ५० रुपैयाँसम्म छुट हुनेछ । चामल, दाल, चिउरा, आटा, कर्णाली प्रदेशका गेडागुडीलगायतमा प्रतिकिलो ७ रुपैयाँ छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । साल्ट ट्रेडिङले नुनमा प्रतिकिलो २ रुपैयाँ छुट दिने भएको छ । न्यौपानेका अनुसार चिनीमा छुट दिनेबारे अझै अन्योल छ । साल्टले काठमाण्डौ उपत्यकाभित्र सतुंगल, कालीमाटी, जावलाखेल, जडिबुटी र भक्तपुरबाट छुट दिनेछ ।