काठमाडौँ । गायक अशोक दर्जीले आफूमाथि कुटपिट र धम्की दिएको आरोपमा संलग्न व्यक्तिविरुद्ध प्रहरीमा उजुरी दिएका छन्। उनले झापाको विर्तामोडस्थित अनारमनी इलाका प्रहरी कार्यालयमा अंकित प्रधानसहित शनिश्चरेका दुई जनामाथि कानुनी कारबाहीको माग गरेका हुन्।
दर्जीलाई पैसा माग्दै कुटपिट गरिएको भनिएको भिडियो आइतबार सामाजिक सञ्जालमा भाइरल भएपछि घटना सार्वजनिक भएको थियो। उजुरीमा दर्जीले उक्त भिडियो करिब एक महिनाअघि नै खिचिएको र हटाउन आग्रह गर्दा पनि नमानेको उल्लेख गरेका छन्।
घटनापछि उनका प्रशंसक तथा कलाकारहरूले दोषीलाई कारबाही गर्न माग गरेका छन्। फिल्म निर्माता तथा नायक हरिहर अधिकारी र निर्देशक तथा नायिका नीता ढुंगानाले पनि घटनाप्रति दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।
उनीहरूले अशोक दर्जी मेहनत र प्रतिभाका आधारमा अघि बढिरहेका कलाकार भएको उल्लेख गर्दै कठिन समयमा उनलाई साथ र न्याय आवश्यक रहेको बताएका छन्। घटनाको वास्तविकता छिटो सार्वजनिक गर्न पनि उनीहरूले आग्रह गरेका छन्।