काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले गृहमन्त्री सुधन गुरुङसँग छलफल गरेका छन्। झडपमा एक युवकको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन्।
रास्वपाका प्रमुख सचेतक प्रकाशचन्द्र परियार, सांसद दीपककुमार साह र नेता वीरेन्द्र केएमले घटनाको सत्यतथ्य पत्ता लगाउन स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न माग गरेका छन्। उनीहरूले दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्ने र पीडितले न्याय पाउनुपर्ने बताएका छन्।
भेटमा गृहमन्त्री गुरुङले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गरिने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले घटनालाई राजनीतिक वा धार्मिक रूपमा उग्र बनाउने प्रयास स्वीकार्य नहुने भन्दै सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गर्नुभएको छ।
झडपपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।