Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबीच सुनसरी घटनाबारे छलफल

प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबीच सुनसरी घटनाबारे छलफल

काठमाडौँ । सुनसरीको देवानगञ्ज घटनापछि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङबीच छलफल भएको छ। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता पनि सहभागी हुनुहुन्थ्यो।

प्रधानमन्त्री शाहले घटनाबाट थप क्षति हुन नदिन आवश्यक संयन्त्र परिचालन गर्न र छिटो अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न निर्देशन दिनुभएको छ। घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिसकेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा झण्डा राख्ने र डिजे बजाउने विषयमा दुई समुदायबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएको थियो। झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने नौ जनाभन्दा बढी स्थानीय घाइते भएका छन्।

घटनापछि इनरुवा लगायतका क्षेत्रमा प्रदर्शन बढेपछि जिल्ला प्रशासन कार्यालयले विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन जारी रहेपछि नेपाली सेनासमेत परिचालन गरिएको छ। प्रशासनले हरिनगरा बजार, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ।