Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आजबाट छठ पर्व सुरु हुदै

आजबाट छठ पर्व सुरु हुदै

काठमाडौँ । मिथिला क्षेत्रमा छठ पर्वअन्तर्गत आज ‘नहाय–खाय’ विधि गर्दैछन् ।

‘नहाय–खाय’ विधि कार्तिक शुक्ल चौथी तिथिमा गरिन्छ । व्रतालुले पवित्र स्थानमा स्नान गरी व्रत सङ्कल्प गरेर चोखो खानेकुरा खानेछन् । यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको हो ।

तृतीयापछि दिउँसो चौथी तिथि लाग्ने भएकाले छठ आज नै सुरु भएको हो । सात्विक भोजन सुरु गरेर व्रत विधि सुरु हुने परम्परा छ ।

छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिंगारिएका छन्। छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी देवीको महिमा गाइएका गीत गुञ्जिएका छन् ।

श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने यस पर्वका पूजा, प्रसाद सामग्री ठकुवा ९गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घिउमा बनाइने खास परिकार, भुसुवा र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिँधिएको चामल र गहुँको पिठोबाट नै पकाउने परम्परा छ। यी परिकार पकाइन चुलो पनि नयाँ प्रयोग गरिन्छ। पर्वमा सूर्यलाई अघ्र्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्कोसहितको उखु आवश्यक पर्छ।

आज ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ विधि गर्ने व्रतालुले पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन्। यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ।

त्यसपछि षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर नुहाएसँगै अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ। सप्तमीका दिन बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्व सम्पन्न हुन्छ।