काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
आज काठमाण्डौको आलोक नगरमा रहेको पार्टी केन्द्रीय कार्यालयमा पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाललगायतका नेताहरूले सामूहिकरूपमा चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा आत्मनिर्भर अर्थतन्त्रमा जोड दिइएको छ । घोषणापत्रमा एकीकृत समाजवादीले पूर्वदेखि पश्चिमसम्म मेगा नहर बनाउने उल्लेख गरेको छ । नेपालको पूर्वदेखि पश्चिमसम्मका सबै नदीलाई एक अर्कासँग जोडी ‘पूर्व–पश्चिम मेगा नहर’ बनाई सिँचाइ, कृषि सडक, खानेपानी तथा जलमार्ग र निश्चित स्थानहरूमा पर्यटकीय स्थथहरूको विकास गर्ने गरी राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गर्ने एकीकृत समाजवादीले बताएको छ ।
त्यस्तै विदेशबाट फर्केका युवालाई कृषि पेशामा आकर्षित गर्न १० लाखसम्म निर्ब्याजी ऋण दिने व्यवस्था गर्न अभियान नै सञ्चालन गर्न घोषणा गरेको छ ।वर्तमान निर्वाचन प्रणाली अन्त्यन्त खर्चिलो भएको भन्दै सुधारका लागि पहल गर्ने उल्लेख छ । राष्ट्रिय उत्पादनमा वृद्धि गरी निर्यातमा बढोत्तरी र आयातमा कटौती गरेर व्यापार घाटा कम गर्दै लानुपर्ने एकीकृत समाजवादी घोषणापत्रमा उल्लेख छ ।