काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका बिजुलीका पोलमा तानिएका केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरणहरू व्यवस्थापन गर्न सेवा प्रदायकहरूलाई ४५ दिनको समयसीमा दिएको छ ।
प्राधिकरणले सार्वजनिक सूचनामार्फत दूरसञ्चार, केवल टीभी तथा इन्टरनेट सेवा प्रवाहका लागि बिजुलीका पोलमा राखिने संरचनाको मापदण्ड तोक्दै त्यहीअनुसार व्यवस्थापन गर्न सेवा प्रदायकहरूलाई आग्रह गरेको छ ।
बिजुलीको पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर, केबल पोलमा जथाभाबी झुन्ड्याइएका उपकरणहरूका कारण सहरलाई कुरुप बनाएको छ । आगलागीलगायतका विद्युतीय दुर्घटनाहरू बढ्दै गएको र यसबाट प्राधिकरणले प्रवाह गरिरहेको विद्युतीय सेवामा समेत अवरोध उत्पन्न भएको छ ।
आगलागीलगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन र सहरी सुन्दरतासमेत कायम राख्न दूरसञ्चार, केबल टीभी र इन्टरनेट सेवा प्रदायकहरूलाई आफ्नो संरचना निर्माणरव्यवस्थापन गर्न समयसीमासहित सार्वजनिकरूपमा आग्रह गरिएको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।