काठमाडौं । निर्वाचन आयोगले चुनावी आमसभा गर्दा आचारसंहिताभित्र रहेर कार्यक्रम गर्न राजनीतिक दल र उम्मेदवारहरुको ध्यानाकर्षण गराएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि भोलिदेखि राजनीतिक दलहरुले गर्ने आमसभा, कोणसभा तथा अन्य प्रचारप्रसारका गतिविधि गर्दा पालना गर्नुपर्ने आचरणको विषयमा आयोगले पुनः ध्यानाकर्षण गराएको हो ।
निर्वाचन आचारसंहिता केन्द्रिय अनुगमन समितिका संयोजकसमेत समेत रहेका आयुक्त रामप्रसाद भण्डारीले प्रचलित कानून, निर्वाचन ऐन, नियम र निर्वाचन आचारसंहीता प्रतिकूल हुनेगरी सभा, समारोहहरु नगर्न आग्रह गरे ।
राजनीतिक दलहरुले अर्काको कार्यक्रम बिथोल्न लागेमा र अर्कालाई आरोप–प्रत्यारोप गरेमा कारबाही हुने पनि उहाँले स्पष्ट पारे । उनले राजनीतिक दलहरुले आमसभा गर्न लागेको कुरा २४ घण्टा अगावै स्थानीय प्रशासनलाई जानकारी दिनुपर्ने प्रावधानलाई कडाइका साथ पालना गर्न पनि सचेत गराए ।