Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतमा पराल जलाउँदा निस्किएको धुवाँको प्रदूषण नेपालमा पनि भित्रियो

भारतमा पराल जलाउँदा निस्किएको धुवाँको प्रदूषण नेपालमा पनि भित्रियो

काठमाडौँ । भारतमा किसानले पराल जलाउँदा निस्किएको धुवाँको प्रदूषण नेपालमा पनि भित्रिएको छ ।

हरियाणा र पञ्जाबमा किसानले पराल जलाउँदा निस्किएको धुवाँ पश्चिम तराईका जिल्लामा प्रवेश गरेको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक तथा मौसम अनुसन्धानकर्ता विनोद पोखरेलले जानकारी दिए ।

यो प्रदूषणको असर काठमाण्डौलगायत देशका विभिन्न भागमा आज भोली र पर्सी देखिन सक्ने उनको भनाई छ । मङ्गलवारसम्म प्रदूषित हावा नेपाल आउने सम्भावना नदेखिएकोमा एकाएक हावाको दिशा मोडिएर आजबाट नेपालतर्फ प्रवेश गरेको हो ।

भारतको हरियाणा र पञ्जाबमा किसानहरूले धान काटेपछि खेतमा बाँकी रहने ठुटामा आगो लगाउने गरेका छन् । मेशिनले धान काट्दा परालको झन्डै डेढ फिटको ठुटा बाँकी रहने भएकोले त्यसलाई किसानले खेतमै जलाउने गरेका हुन् ।

पञ्जाब र हरियाणा दुवै राज्यमा खेतको परालमा आगो लगाएबापत जरिबाना तिर्नुपर्ने व्यवस्था भए पनि किसानले गहुँको बिउ छर्नका लागि खेत तयार गर्न छिटो गर्नुपर्ने भन्दै पराल जलाउने काम गरिरहेका छन् ।