Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु

आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु

काठमाडौं । आम निर्वाचनका लागि निर्वाचन आयोगले आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु गर्दैछ ।

चुनावमा मतदातालाई सक्रिय सहभागिता गराउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो । मतदाता शिक्षा कार्यक्रममार्फत मतदातालाई मतदान गर्ने सही तरिका सिकाइनेछ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ७७ वटै जिल्लाका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडाका घरमा मतदाता शिक्षा कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो । यसका लागि आयोगले प्रत्येक वडामा रहेका स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा कार्यकर्ता तोकेर खटाउँदै छ ।

स्वयंसेविकालाई मतदाता शिक्षा सामग्रीसहित जिल्ला निर्वाचन अधिकृतको कार्यालयले पालिकामार्फत हरेक वडामा खटाउने छन् । मतदाता शिक्षाका लागि जिल्ला–जिल्लामा सामग्री पुगिसकेका छन् । एक जना स्वयंसेविकाले १५ जनाको समूहमा दुईवटा ब्रोसरबाट मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायत विषयमा जानकारी दिनेछन् ।

स्थानीय तहसँगको समन्वयमा मतदाता शिक्षा कार्यक्रम १८ कात्तिकदेखि १ मंसिरसम्म आयोजना हुने प्रवक्ता अर्यालले बताउनुभयो । उहाँका अनुसार केही वडामा एक स्वास्थ्य स्वयंसेविकाले अपुग भए थप एक परिचालन गर्ने तयारी छ । आयोगले मतदाता शिक्षाका लागि ५० करोड रुपैयाँ छुट्टाएको छ ।