काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याएरै छाड्ने दाबी गरेका छन् ।
आज सदरमुकाम खलंगामा एमालेले आयोजना चुनावी सभालाई सम्बोधन गर्दै ओलीले राष्ट्रियताको सवालमा नेपाल एक इञ्च जमिन कसैलाई छाड्ने पक्षमा नरहेको उल्लेख गर्दै मिचिएको भू–भाग फिर्ता ल्याएरै छाड्ने दाबी गरेका हुन् ।
‘राष्ट्रियताको प्रश्नमा नेपालले एक इञ्च जमिन पनि कसैलाई छोड्नेवाला छैन । एक इञ्च जमिन पनि मिच्न दिनेवाला छैन । मिचिएको भए फिर्ता ल्याउँछ भनेर हामीले नक्सा जारी गरेका छौँ,’ ओलीले भने, ‘संसदले सर्वसम्मतका साथ पारित गरेको छ । त्यो कुराको फेरि ग्यारेन्टी गर्न चाहान्छु ।’
कित्र्ते खोल्सीलाई महाकाली उल्लेख गरेर भारतले ६० वर्षदेखि कालापानी, लिपुलेक र लिम्पियाधुरा मिचेको बताउँदै उनले मिचिएको भु–भाग फिर्ता ल्याएर छाड्ने बताएका छन् । भारतीय पक्षले सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर १२ वर्षीय बालकको मृत्यु भएको घटनामा गठबन्धन सरकारले शिघ्र एक्सन नलिएको उनको तर्क छ ।