काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले मंसिर ४ गतेको निर्वाचन निष्पक्ष र धाँधलीरहित हुने बताएका छन् ।
बाराको सिमरामा आयोजित पत्रकार सम्मेलनमा उनले चुनाव हुँदैन भन्नेहरुले समेत मंसिर ४ गते भोट हाल्न पाउने बताएका छन् ।
कांग्रेस अन्य दलका नेता जस्तो धेरै नबोली थोरै बोल्ने र प्रचार नचाहने पार्टी भएको बताउनु हुँदै महतले पार्टी सभापति शेर बहादुर देउवाले जम्मा ५ मिनेट बोल्ने र ओली जस्तो धेरै बोल्ने नभई काम गर्ने गरेको भए पनि कांग्रेसले आफैंले गरेको कामको प्रचार नगर्ने तर अरु गर्ने गर्दा कांग्रेसको चर्चा बढि नभएको बताए ।
४ क्षेत्रको बारामा १ बाहेक तीन क्षेत्र गठबन्धनलाई छाडेकाले गठबन्धनका उम्मेदवार नै कांग्रेसका आधिकारिक उम्मेदवार भएकाले दायाँबायाँ नगरी मत दिनुपर्ने उनको भनाइ थियो ।
प्रवक्ता महतले समानुपातिक निर्वाचनतर्फ भने कांग्रेसको रुख चिन्हमा नै मतदान गर्न नेता कार्यकर्तालाई आग्रह गरे । एमालेले जनतालाई ललिपप देखाएर फकाउने गरेको भन्दै महतले एमालेले धेरै सपना देखाएको तर एउटै काम पुरा नगरेको आरोप लगाए ।