काठमाडौँ । आज मंसिर शुक्ल पञ्चमी तिथि अर्थात विवाहपञ्चमी । त्रेता युगमा आजकै दिन भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको विश्वासमा जनकपुरमा हार्षोल्लासपूर्वक विवाहपञ्चमी महोत्सव मनाइँदै छ ।
प्रत्येक वर्ष सप्ताहव्यापरी रुपमा मनाइँने विवाहपञ्चमी महोत्सवमा राम र सीताको विवाह गर्ने प्रचलन छ । त्रेता युगमा जुन प्रकारले राम र सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरमा भएको भन्ने गरिन्छ, त्यसरी नै वर्तमानमा समेत राम जानकीको डोलालाई जनकपुरमा स्वयंबर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने परम्परा छ ।
आज दिउँसो साधुसन्तको अगुवाइमा झाँकी किर्तणसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदान पुगेर स्वयंबर गरिनेछ । बाजागाज, झाँकी र किर्तनसहित निस्किने दुवै डोला बाह्रबिघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयंबर गर्ने प्रचलन छ ।
डोलाको दर्शन र रामजानकीको स्वयंबर हेर्न बाह्रबिघा मैदानमा हजारौँको संख्यामा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । स्वयंबर पश्चात राम र जानकीको डोलालाई नगर परिक्रमा गर्दै जानकी मन्दिरमा पुगेर साँझदेखि विवाहको काज सुरु हुन्छ ।
राम र सीताको विवाहको लागि जानकी मन्दिर प्रांगणमा विवाह मण्डप अर्थात मरबा बनाइएको छ । राम र जानकीको विवाहको लागि जानकी मन्दिरलाई सिंगारिएको छ । वैवाहिक कार्यक्रममा झाँकी कीर्तणसहितको सांस्कृतिक कार्यक्रमहरु आयोजन हुने गर्दछ । जसको अवलोकनको लागि हजारौं दर्शनार्थीहरुको जानकी मन्दिरमा भीड लाग्ने गर्दछ ।