काठमाडौँ । पाल्पामा बिहे भोज खाएका माइतीपक्ष र जन्ती आएकाहरु बिरामी परेका छन् ।
बगनासकाली गाउँपालिका–१ चिर्तुङधारामा बिहे भोज खाएका प्रायः सबै बिरामी भएका वडाअध्यक्ष शेरबहादुर रानाले जानकारी दिए ।
भोज खाएका स्थानीय बुढाखान्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोल र घोरबन्दा गाउँका ८० जनाभन्दा धेरै बिरामी परेका वडाअध्यक्ष रानाको भनाइ छ । गएको १७ गते शनिवार बगनासकाली गाउँपालिका–१, चिर्तुङधारामा रहेको दानबहादुर गाहाकी छोरीको बिहेमा भोज खाएकाहरु बिरामी परेका हुन् ।
जन्ती आएका प्युठानका एकै गाउँका ४५ जनाभन्दा बढी बिरामी परेका जनाइएको छ । भोजमा मासु, पुलाउ, आलु र गोभीको तरकारी, मेवाको अचार, बटुक, आलुमुलाको अचार रहेको थियो ।
बिरामी भएकाहरुलाई ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने लगायतका समस्या देखिएको चिर्तुङधारा स्वास्थ्य चौकी प्रमुख सिनियर अहेब नोदप्रसाद बस्यालले जानकारी दिए ।