Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०’को उपाधी विजेता नेपाली चेली शिलास्मा हमाललाई फेसियल हाउसले गर्यो स्वागत

मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०’को उपाधी विजेता नेपाली चेली शिलास्मा हमाललाई फेसियल हाउसले गर्यो स्वागत

काठमाडौं – ‘मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०’को उपाधी विजेता नेपाली चेली शिलास्मा हमाललाई फेसियल हाउसले स्वागत गरेको छ । मलेशियाको कोटाकिनाबालोमा शनिबार सम्पन्न ‘मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०’ की विजेता हमाललाई मंगलबार सीटिसि मलमा अवस्थित फेसियल हाउसमा एक कार्यक्रमका बीच स्वागत गरिएको हो ।

शनिबार सम्पन्न ‘मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०’ प्रतिस्पर्धामा विभिन्न १८ मुलुकका २१ जना विवाहित महिलाहरुको सहभागिता रहेको थियो । विभिन्न चरणपछि फाईनलमा पुगेकी शिलास्माले ‘मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०’को उपाधीसँगै ‘उत्कृष्ट पहिरन’, ‘उत्कृष्ट प्रस्तुती’ र ‘सुन्दर मुस्कान’को उपाधी समेत हात पारेकी छिन् ।

फेसियल हाउसकी पूर्वा विद्यार्थी समेत रहेकी शिलास्मा हमाललाई फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा शाहले स्वागत तथा बधाई ज्ञापन गरेकी थिइन् । कार्यक्रममा आफ्नो मन्तब्य राख्दैं महराले ‘मिसेस टुरिजम एम्बेस्डर वल्र्ड २०२०’को उपाधी शिलास्मा हमालले मात्र जितेको नभएर सम्पूर्ण विवाहित नेपाली महिलाले जितेको बताइन् । उनले एउटा विवाहित महिलाका लागि घरबाट बाहिर निस्कनु कठिन रहेको प्रसंग जोड्दैं अन्तर्राष्ट्रिय स्तरमा भएको प्रतिस्पर्धामा गएर उपाधी हात पार्नु सम्पूर्ण नेपालीका लागि गर्वको कुरा रहेको बताइन् ।

कार्यक्रममा उपाधी विजेता हमालले परिवारको साथ र सहयोगबिना विवाहित महिलाका लागि व्युटी प्रेजेन्ट भाग लिन सहज नहुने बताइन् । उनले यसमा अगाडी बढ्न प्रेत्साहन दिने आफ्नो परिवार, आफुलाई सधै साथ र हौसला प्रदान गर्ने सुष्मा महरा साथै आफुलाई तालिम दिने दिक्पाल कार्कीलाई समेत धन्यवाद ज्ञापन गरेकी थिइन् ।

फरक प्रसंगमा हमालले नेपालमा ‘भ्रमण बर्ष २०२०’ चलिरहेको र आफुले यहि अन्तर्गत रहेर उपाधी जितेकाले नेपालको प्रचार प्रसार गर्ने काम गरिरहेको र आगामी दिनमा पनि गर्ने बताइन् । उनले सरकारले भ्रमण बर्षको प्रचारप्रसार गरिरहेको भएता पनि प्रचारप्रसार अझै प्रभावकारी रुपमा गर्नुपर्ने धारणा राखिन् । साथै उनले अन्तर्राष्ट्रिय स्तरमा भएको प्रतियोगिताको उपाधी हात पारेर नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पाएकोमा खुसी व्यक्त गरिन् ।

विजेता हमालले अन्तर्राष्ट्रिय स्तरमा हुने व्युटी प्रेजेन्टमा भाग लिने प्रतियोगीले व्यक्तिगत रुपमा सम्पूर्ण काम गर्नु पर्ने बाध्यता रहेको बताउदैं यसका लागि सम्बन्धित सरकारी निकायबाट साथ र सहयोग भएमा नेपाली चेली अझै अगाडी बढ्न सक्ने धारणा राखिन् ।

विगत लामो समयदेखि मोडलिङमा सक्रिय शिलास्माले नेपालका केही व्युटी पेजेन्टमा पनि यस अघि ताज जितिसकेकी छिन् । उनले यस अघि ‘ब्यूटिसियन नेपाल २०१८’ को ताज जितेकी थिइन् । यसका साथै उनी म्युजिक भिडियोमा समेत व्यस्त मोडलका रुपमा चिनिएकी छिन् ।

दुई छोराकी आमा समेत रहेकी हमाल सामाजिक सेवामा पनि सक्रिय छिन् । उनले चार जना अनाथ बालबालिका तथा एक बृद्ध आमालाई पालन पोषण गर्दै आएकी छिन् । उनले आर्थिक अवस्था कमजोर भएमा महिला दिदी बहिनीलाई व्यक्तिगत खर्चमा ब्यूटिसियन तालिम पनि प्रदान गर्ने गर्दछिन् ।