२०८० चैत २ -
सुन तस्करी सम्बन्धी अनुसन्धानमा लापरवाही गरेको भेटिएपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीकी प्रमुख एआइजी किरण बज्राचार्यलाई हटाउने तयारी भएको छ । सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले गरेको अनुसन्धान क्रममा ६० किलो सुन तस्करीको अनुसन्धानमा सीआइबीले गम्भिर लापरवाही गरेको उल्लेख गरेको उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले बताएका छन् । उनले यो बिषयमा गहन रुपमा अनुसन्धान सुरु गरेका छन् ।
उनले भने ‘अनुसन्धानका क्रममा गम्भीर त्रुटि भएको रिपोर्ट पढ्दा छर्लंग हुन्छ, गहिरो ढंगले अनुसन्धान गर्नुपर्नेलाई सहजै उन्मुक्ति दिएको, कतिपयलाई मुद्दा नै चलाउन नखोजेको समेत स्पष्ट देखिन्छ’, ‘मैले प्रधानमन्त्रीज्यूलाई यी सबै कुरा जानकारी गराएको छु । म यो प्रकरणको पुनः छानबिन गराउँछु ।’ लामिछानेले सुनको तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका छन् । गृहमन्त्री लामिछानेले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई आयोगको प्रतिवेदन बुझाएका हुन् ।
बिहीबार सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग अध्यक्ष डिल्लीराज आचार्यले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई सरकारलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले प्रतिवेदनमा दिइएका सुझाव कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । जुनसुकै खालको कमजोरी गर्ने निकाय र व्यक्तिविरुद्ध कारबाही हुने दृढता व्यक्त गर्दै उपप्रधानमन्त्री लामिछानेले विगतमा उन्मुक्ति दिन सहयोग गर्नेलाई पनि कानून मातहत ल्याइने बताएका थिए ।सुन तस्करी प्रकरणमा प्रमाण समेत नष्ट गर्न सीआइबीले भूमिका खेलेको गृहमन्त्रालय स्रोतले बताएको छ ।
सुन तस्करी नाइके दावा छिरिङसँग सम्बन्ध देखिएका जीवन चलाउने र चलाउनेसँग सम्बन्ध देखिएका पूर्व प्रहरी प्रमुखहरुलाई जोगाउन सीआइबीका अधिकारीहरूले प्रमाण नष्ट गरेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । उपप्रधान तथा गृह मन्त्री लामिछानेका अनुसार राज्यका जिम्मेबार भूमिका बसेका व्यक्तिले तस्करीलाई संरक्षण गर्न खोजेको भेटिएको छ । सुन तस्करीमा सुरक्षा निकाय र राजनीतिक व्यक्तिहरुसँग सेटिङ मिलाएका देखिएको चलाउनेलाई अनुसन्धान अधिकारीहरुले नै भगाएको प्रमाण प्रतिवेदनमा उल्लेख गरिएको छ । चलाउनेलाई ब्यूरोमा लगेर बयान कागज गराएर छाडिएको पाइएको गृह मन्त्रालयका एक अधिकृत बताउँछन् ।
अनुसन्धान अधिकृतभन्दा बाहिरको अधिकारीले कागज गराएर मिसिलमा संलग्न गराउन लगाएको पाइएको गृह स्रोतको दाबी छ । यद्यपि, यो विषय बाहिर सार्वजनिक भएपछि प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले प्रतिवादी बनाउन निर्देशन दिएको स्रोतको दाबी छ । त्यसपछि पहिले ब्यूरोका अधिकृतहरुको सम्पर्कमा भएका चलाउनेलाई प्रतिवादी बनाइएको अधिकृतहरु बताउँछन् । प्रतिवेदनमा सीआइबीका अन्य केहि अधिकारीहरुको समेत तस्करहरुसँग सम्बन्ध रहेको उल्लेख गरिएको छ ।
यस विषयमा प्रतिवेदन प्राप्त हुँदासाथ प्रहरी प्रमुखलाई जानकारी गराइ आवश्यक कारवाही अघि बढाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । बालुवाटारबाट फर्केलगत्तै प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई बोलाएर छलफल गरेका गृहमन्त्रीले तत्कालै एक्सनका लागि तयारी हालतमा रहन निर्देशन दिएका हुन् । बिहीबारै गृहमन्त्रीले गृहसचिव एकनारायण अर्याल लगायतसँग आफ्नो योजना सुनाउँदै आवश्यक तयारी गर्न निर्देशन दिएका छन् । गृहमन्त्रालय स्रोतका अनुसार रविले शुक्रबार नै कतिपय बहालवाला उच्च पदस्थमाथि एक्सन लिनेछन् । त्यो एक्सन कोमाथि कुन प्रकारको हुनेछ भन्नेमा गृहमन्त्रीले विस्तृत खुलाउन मानेनन् ।