Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

पूर्वसभामुख कृष्णबहादुर महरालाई सुन तस्करीमा मुद्दा चलाउने

पूर्वसभामुख कृष्णबहादुर महरालाई सुन तस्करीमा मुद्दा चलाउने

०२ चैत ,काठमाडौँ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो ।

महरालाई आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार प्रतिवेदन बुझ्दै यसमा समावेश विषयहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले कुरा गर्दै सुन तस्करी प्रकरणको अनुसन्धानमा सीआईबीबाट गम्भीर त्रुटि भएको समेत बताएका छन् । बिहीबार सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग अध्यक्ष डिल्लीराज आचार्यले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले प्रतिवेदनमा दिइएका सुझाव कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । जुनसुकै खालको कमजोरी गर्ने निकाय र व्यक्तिविरुद्ध कारबाही हुने दृढता व्यक्त गर्दै उपप्रधानमन्त्री लामिछानेले विगतमा उन्मुक्ति दिन सहयोग गर्नेलाई पनि कानून मातहत ल्याइने बताएका थिए ।सुन तस्करी प्रकरणमा प्रमाण समेत नष्ट गर्न सीआइबीले भूमिका खेलेको गृहमन्त्रालय स्रोतले बताएको छ ।

सुन तस्करी नाइके दावा छिरिङसँग सम्बन्ध देखिएका जीवन चलाउने र चलाउनेसँग सम्बन्ध देखिएका पूर्व प्रहरी प्रमुखहरुलाई जोगाउन सीआइबीका अधिकारीहरूले प्रमाण नष्ट गरेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस अघि (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख समेत रहेका कृष्णबहादुर महराले सुन तस्करसँग आफ्नो कुनै पनि साँठगाँठ नभएको दाबी गर्दै आएका थिए ।

सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिक वाङलाई आफूले फलफूल व्यापारीको रूपमा मात्रै चिनेको र त्यही रूपमा मात्रै कुरा गरेको बताएका थिए। फलफूल व्यापारीबाहेक वाङलाई अर्को रूपमा नचिनेको र उनीसँग सुनका बारेमा कहिल्यै फोनमा कुरा पनि नभएको भन्दै महराले आफ्नो बचाउ गर्दै आएका थिए ।

आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन आग्रह गर्न वाङ आँफूकहाँ आएको भने महराले स्वीकारेका थिए । सोही आधारमा आफूले भन्सारका कर्मचारीसँग कुरा गरेको र हेरेर कानुनअनुसार काम गर्न मात्रै आग्रह गरेको उनले बताएका थिए । तर, विद्युतीय सिगरेट (भेप) मा लुकाएर तस्करी भएको ९ किलो सुनका चिनियाँ तस्करसँग महरासँगको सम्पर्क देखिएको थियो । यही प्रकरणका उनका छोरा राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको थियो ।

महरालाई भने बयान कागज गराएर छाडिएको थियो । त्यसबेला सीआईबीसँग उनले ती चिनियाँ नागरिकसँग फलफूल व्यवसायीका रुपमा मात्र चिनजान भएको बताएका थिए । उनले चिनियाँ तस्कर दावा जिन वाङसँग ११ वर्ष पहिले नै चिनजान भएको बयानमा बताएका थिए । सन् २०११ मा पढ्न जाँदा चिनमै उनीसँग चिनजान भएको बताएका थिए ।

यो प्रकरणमा प्रहरीले पहिले नै मुद्दा बुझाएको थियो। तर राहुल र कृष्णबहादुर महराको समेत संलग्नता खुले पनि महरा बिरुद्ध मुद्दा नचलाएको भन्दै चौतर्फी विरोध भईरहेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले भेप बरामद गरेपछि छुटाउनलाई उनले तत्कालीन भन्सारका प्रमुख प्रशासकलाई फोन गरेका गरेका थिए ।

शंका लागेपछि भन्सारले जाँच गर्दा गोदाममा भएको भेप नै परिवर्तन गरिएको खुलेको थियो । त्यसक्रममा अनुसन्धान गर्न विमानस्थल भन्सारका नायब सुब्बा रेवन्त खड्कासमेतको मिलेमतोमा भेप साटफेर गरेको अनुसन्धानबाट खुलेको थियो । खड्काको बयानबाट भेपभित्र सुन रहेको खुलेको थियो, त्यसपछि यो मामलामा थप छानबिन गरिदिन भन्दै भन्सारले सीआईबीलाई पत्राचार गरेको थियो । सीआईबीले गरेको अनुसन्धानका क्रममा चिनियाँ नागरिकसँग पूर्वसभामुख महरा बाबुछोराको सम्पर्क रहेको देखिएको थियो । तर, प्रहरी अनुसन्धान त्यसबेला भेप चोरीमा मात्र केन्द्रीत भयो, सुन ल्याउने समूहविरुद्ध अनुसन्धान भएको थिएन ।