चैत ८ ।
बाँसबारी जग्गा हिनामिना प्रकरणमा मुछिएका उद्योगपति एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो ९सीआईबी०ले बयान लिएको छ । सरकारी वकिलको कार्यालयमा आज बिहान चौधरीको बयान लिइएको स्रोतले बतायो ।
आफूमाथि गरिएको अनुसन्धानलाई उनले ‘राजनीतिक स्टन्ट’ को संज्ञा दिएका छन् । स्टन्ट गर्नेहरुलाई आफूले चरित्रको प्रमाणपत्र देखाइरहनु नपर्ने उनको भनाइ छ । चौधरीले एउटा उद्यम र उद्यमीमाथि राजनीतिकरण गर्न खोजिएको गुनासो गरे । एउटा जिम्मेवार राजनीतिकर्मी भएको हिसाबले आफू बयानका लागि उपस्थित भएको उनले बताए । आज बिहान सीआईबीको सम्पर्कमा आएका उनलाई सरकारी वकिलको समन्वयमा बिहान ८ बजे बयान लिइएको हो । बिहान उनी आफैं सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेका थिए ।
बाँसबारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले अनुसन्धान गर्दै आएको छ । यसैक्रममा सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सांसद चौधरीमाथि पनि अनुसन्धान भइरहेको जानकारी गराएको थियो । चौधरीले बाँसबारी जग्गाबारे राजनीतिकरण भएको गुनासो गरेका हुन् । ‘एउटा जिम्मेवार राजनीतिकर्मी र उद्यमी भएकाले सहयोग गर्न उपस्थित भएँ’, ‘४२ वर्षअघि बाँसबारीजस्तो अनाकण्टार ठाउको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ त्यो बेलामा पब्लिक प्राइभेट पार्टनरसिपको उत्कृष्ट मोडलमा खडा गरिएको नवीनतम सोचलाई जुन किसिमबाट राजनीतिकरण गरियो त्यो अत्यन्त दुखलाग्दो छ ।’ चौधरीले भने । उनले एउटा उद्यमीको हैसियतले आफूले जहिले पनि विकासको राजनीति गरेको भन्दै कुनै प्रकारका दलहरूका मतभेदमा सरिक नभएको दाबी समेत गरे ।
तर पछिल्लो समय एउटा उद्यमीलाई राजनीतिकरण गरेको भन्दै कठिन परिस्थितमा आफूजत्तिको मानिसले उभिएर अर्थतन्त्रको कुरा गर्दा रोजगार दाताहरूले हेक्का राख्न सक्नुपर्ने बताए । गृहमन्त्री रबि लामिछानेले चौधरीमाथी पनि अनुसन्धान गर्न निर्देशन दिएका थिए । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका बिनोध भौधरीका भाई अरुणकुमार चौधरी हाल जमानीमा रिहा भईसकेका छन् । बाँसबारी छाला–जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा चौधरीसहित ३ जनालाई १६ माघमा पक्राउ गरेको थियो । बाँसबारी छाला उद्योग चीन सरकारको अनुदान सहयोगमा २०२० सालमा स्थापित भएको थियो ।
तर निरन्तर घाटामा गएको देखाएर १० रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई बिक्री गरिएको थियो । भदौ २०४३ मा ६ रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई सरकारी मूल्यांकन भन्दा सस्तो ९रोपनीको २ लाख ५० हजार० मा बेचिएको थियो भने थप ४ रोपनी जग्गा उद्योगको २५०० कित्ता शेयर पाउने गरी दिइएको थियो ।
त्यसबेला च्याम्पियन फुटवेयरको शेयर सदस्य अरुणसँगै विनोद चौधरी, बसन्त चौधरी लगायत थिए । सुरुवातमा च्याम्पियन फुटवेयर प्रालिमा उद्योगी विनोद चौधरीको २०० कित्ता शेयर देखिएको थियो ।अहिले यो जुत्ता उद्योग छैन भने कम्पनीको नाम परिवर्तन गरेर सीजी चाँदबाग रेसिडेन्सी प्रालि राखिएको छ । शेयर सदस्य अरुण र उनकी श्रीमती शिला छन् । जग्गामा चौधरी ग्रुप फाउन्डेसनले चाँदबाग स्कुल सञ्चालन गरेको छ । अनुसन्धान टोलीका एक सदस्यका अनुसार, सरकारी जग्गा हडप्नकै लागि च्याम्पियन फुटवेयरको स्थापना भएको देखिन्छ ।अहिले जग्गा फिर्ताको प्रकृया पनि सुरु भई सकेको छ ।