काठमाडौं, चैत ८ । बियर खाएको पैसा तिर्ने विवाद बढ्दै जादा धनुषामा एक युवकको घाँटी रेटेर उनकै साथीले हत्या गरेका छन । सँगै बसेर बियर पिएका उनीहरुबीच पैसा तिर्ने विषयमा विवाद हुन थाल्यो । त्यसपछि दुई साथी मिलेर धनुषाको जनकनन्दनी गाउँपालिका–२ स्थित आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको हत्या गरेको पाईएको छ ।
चक्कु प्रहारबाट घाइते कैसको उपचारका लागि भारततर्फ लग्ने क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । हत्या आरोपमा सोही ठाउँका २० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफलाई पक्राउ गरी अनुसन्धान तथा कारबाही अगाडी बढाएको बताए । दिनभरीको रोजा सकिएपछि तीनजना मिलेर बियर खान होटल पसेका थिए ।
फर्किने क्रममा वियर खाएको रुपैयाँ र मोबाइलको विषयमा विवाद भयो । त्यसपछि सहमत र जाकिसले नदिफलाई चक्कु प्रहार गरेका थिए । हत्यामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाका अनुसार राति साढे १० बजेतिर साथीसँग बियर खान गएको बेला मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा दुईजना साथीले नदाफको घाँटी रेटेका थिए । गम्भीर घाइते नदाफलाई उपचारको क्रममा भारत लगिएको थियो । उनको उपचारको क्रममा राति २ बजे मृत्यु भएपछि शव घर ल्याएर प्रहरीलाई खबर गरिएको थियो ।
उता झापाको पृथ्वीनगरमा धारिलो हतियार खन्ती प्रहार गरी एक युवकको हत्या गरिएको छ। साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राईको हत्या गरिएको हो। सनमको हत्या उनकै साथी अन्दाजी २५ वर्षीय लोकबहादुर राईले गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटना आज बिहान ५ बजेको हो। लोकबहादुर र सनम साथी हुन्। लोकबहादुर गएराति सनमको घरमा गएर सुतेका थिए। सुतिरहेको अवस्थामा खन्तीले सनमको टाउकोमा प्रहार गरी लोकबहादुरले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हत्या गरी लोकबहादुर घटनास्थलमै रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
पछिल्लो समयमा असहनशील र उत्तेजक प्रवृत्तिले भएका घटनाका प्रशस्तै उदाहरण छन् । यस्तो असहनशीलता मर्ने र मार्नेसम्म पुगेको छ, त्यो घरबाहिर होस् या घरभित्र । तथापि परिवार र आफन्तबीच हुने हत्याका श्रृङ्खला त्यसमा मात्रै सीमित छैन । समाजिक बनावट, घरभित्रको वातावरण, अविश्वास, विवाहेत्तर सम्बन्ध, यौन, आर्थिक कारोबारले निम्त्याएको विवाद, आवेग, उत्तेजना र तनावलाई नियन्त्रण गर्न नसक्दा पनि परिवार र आफन्तबीच हत्याको श्रृङ्खला बढ्दै गएको माथिका घटनाबाट प्रष्ट हुन्छ । यस्ता घटना कुनै उमेर समूहमा मात्रै सीमित देखिँदैन । परिवारभित्रका घटनालाई केलाउँदा अन्य सदस्यको तुलनामा श्रीमान—श्रीमतीले एक अर्काको हत्या गर्ने क्रम बढेको देखिन्छ ।