Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

युवाहरुको रगत-पसिनाले आर्जित रेमिट्यान्सलाई नेपालका भ्रष्टहरुले आफ्नो कालोधन साट्ने अस्त्र बनाएँ- अध्यक्ष साह

युवाहरुको रगत-पसिनाले आर्जित रेमिट्यान्सलाई नेपालका भ्रष्टहरुले आफ्नो कालोधन साट्ने अस्त्र बनाएँ- अध्यक्ष साह

काठमाडौं, २७ जेठ । आम जनता पार्टीको रिढ़ संगठन आईटी आर्मीले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग लिइएको अवैध रकम फिर्ता गराउन आगामी असार २ गतेदेखि वैदेशिक रोजगार विभाग घेराउ गर्ने भएको छ ।

हिजो (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रमहरु बारे जानकारी गराइएको हो । आईटी आर्मीका संस्थापक अध्यक्ष चन्द्रभुषण साहले वैदेशिक रोजगारीमा जाने लाखौं युवाहरुबाट खर्बौं रकम अवैध रुपमा असुली भएको बताए । लामो समयदेखि भइरहेको उक्त अवैध असुलीलाई आइटी आर्मीले रोक्न चाहेको उनले बताए । उनले यसरी अवैध रुपमा गरिएको असुली फिर्ता गराएर छाड्ने बताए । ‘लाखौं लाख युवासँग खर्बौैं रकम ठगी भइरहेको छ । ५, १० हजारको नाममा ५ लाख, १० लाख गरी लाखौंलाख अवैध असुली भइरहेको छ ।

विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौं । असुली भएको रकम फिर्ता गराउन चाहन्छौं,’– उनले भने । नेपालको हरेक राजनीतिक आन्दोलनमा युवाहरुले अग्रणीय योगदान गरेपनि युवाहरुको भविष्यमाथि सरकार गम्भीर नबनेको उनको भनाइ छ । उनले संविधानको धारा ३३ मा रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरिएपनि अहिलेको भगौडा दलाल वर्गको यो लुटकारी शासन सत्ताले युवाहरुलाई रोजगारीको अवसर दिन नसकेको तर देशभित्रको उद्योगहरुमा विदेशी कामदारहरुले अवसर पाइरहेको बताए । साथै, उनले युवाहरुले विदेशमा दुःख गरेर कमाएको रकम अवैध रुपमा हुण्डीमार्फत दुरुपयोग भइरहेको पनि बताए । नेपालका नेता, प्रशासक र अवैध व्यापारीहरुले हुण्डीमार्फत पैसा ल्याएर आफ्नो कालोधन विदेशमा थुपार्ने काम गरिरहेको उनको आरोप छ । नेताहरु विना लगानी मेनपावरको शेयर होल्डर बनिरहेको पनि उनले बताए । यस्ता प्रकारका दुष्चक्र अन्त्य हुनु्पर्ने आईटी आर्मीको माग छ । ‘हाम्रा युवाहरुलाई आज मरुभूमिमा मर्न बाध्य बनाइएको छ । ती युवाहरुको खुनपसिनाले आर्जित रेमिट्यान्सलाई नेपालका भ्रष्ट नेताहरु, यहाँका प्रसाशकहरु र अवैध व्यापारीहरुले आफ्नो कालो धनलाई सट्टापट्टाको अस्त्रको रुपमा प्रयोग गरिरहेको सन्दर्भ छ,’– उनले भने ।

साथै, असुरक्षित श्रम स्वीकृतिका कारण विदेशमा ज्यान गुमाउने युवाहरुको मृत्यूलाई उनले ‘राज्यद्वारा गरिएको हत्या’ का रुपमा परिभाषित गरे । यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए । वैदेशिक रोजगारीमा पठाउँदा जीटूजी प्रणाली अवलम्बन गरिनुपर्ने, फ्री भिसा - फ्री टीकट व्यवहारतः लागु गर्नुपर्ने, भ्रष्ट अधिकारी तथा ठग मेनपावर र ऐजेंटलाई कारवाई गर्नुपर्ने उनको माग छ । आईटी आर्मीका केन्द्रीय सचिव प्रशान्त केसीले विदेश पठाउने नाममा धेरै अनियमितता, भ्रष्टाचार र ठगी भइरहेको बताए । अहिलेसम्म यी मुद्दामा कुनै राजनीतिक दलहरुले आवाज नउठाइदिएकाले आफूले सशक्त रुपमा आवाज उठाउने निर्णय गरेको उनले सुनाए । गलत काम गर्ने मेनपावर व्यवसायी र त्यस्ता काममा संलग्नहरुको विरुद्ध अब आईटीआर्मीले धावा बोल्ने उनले उद्घोष गरे ।

आईटीआर्मीका महासचिव नरेश तुरहाले नेपालमा सदियौंदेखि वैदेशिक रोगजारीमा पठाउने परम्परा चलिरहेको र कुनै न कुनै रुपमा यसमा नेताहरुको संलग्नता रहेको बताए । नेताहरुले मेनपावरको माध्यमबाट युवाहरुलाई लुटिरहेको उनले बताए ।