काठमाडौं । माघे संक्रान्तिका अवसरमा आज नुवाकोटको तारुकासहित विभिन्न स्थानमा गोरु जुधाइ कार्यक्रम गरिँदैछ । माघे सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोट र धादिङका विभिन्न स्थानमा ६५ हल गोरु जुधाइने भएको छ। नुवाकोटको तारकेश्वर गाउँपालिका-३ तारुकाको चन्दनीमा २१, विदुर नगरपालिका-१० रसुवासँगको सङ्गमस्थल वेत्रावतीमा ११, पञ्चकन्या गाउँपालिका-३ पिपलडाँडामा ८, लिखु गाउँपालिका-३ कट्टीछापमा ३, तादी गाउँपालिका-४ सातबिसेमा १०, शिवपुरी गाउँपालिका-५ शेराबगरको गैरीफाँटमा ५ हल गोरु आज जुधाउन लागिएको छ।
धादिङको नीलकण्ठ नगरपालिका-५ खाल्टेको फ्याक्सेमा ७ हल गोरु जुधाउन लागिएको आयोजक चमेरे गुफा संरक्षण समाजले जनाएको छ। तारुकामा आयोजित गोरु जुधाइको व्यवस्थापन ‘माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्था’ ले गरेको छ। संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीको अनुसार गोरु जुधाइको सबै तयारी पुरा भएको छ। चन्दनीमा २१ हल गोरु जुधाउन लागिएको हो। गोरु जुधाइ तथा विभिन्न सांस्कृतिक कार्यक्रममा यसपटक नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालालगायत सहभागी हुने कार्यक्रम छ।
गाउँपालिका अध्यक्ष रमेशबहादुर वस्तीको अनुसार तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघर आउँदा विसं १८८७ मा गोरु जुधाएर मनोरञ्जन दिलाएको स्मरणमा यहाँ हरेक वर्ष मकर सङ्क्रान्ति पर्वको अवसरमा गोरु जुधाइ प्रतिस्पर्धालाई मेलाको रुपमा सञ्चालन गर्ने गरेको पाइन्छ।
वि.सं. २०६२ देखि स्थानीयवासीले हरेक वर्ष आलोपालो रुपमा समिति बनाएर माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थामार्फत व्यवस्थित रुपमा गोरु जुधाउन लागिएको हो। यसैगरी, गोसाइकुण्ड युवा क्लबको आयोजनमा बेत्रावतीमा ११ हल गोरु जुधाउन लागिएको छ। आयोजक क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलका अनुसार वेत्रावतीमा जुधाइने गोरु जात्राको मेला अवलोकन गर्न प्रतिनिधिसभाको उपसभामुख शिवमाया तुम्बाहाम्फेलगायत सहभागी हुने कार्यक्रम छ।