काठमाडौं । विपिन कार्की स्टारर चलचित्र ‘सेल्फी किङ’ ले ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ प्रतियोगिता ल्याएको छ । ह्युमर र कमेडी हाउभाउमा खिचिएको सेल्फीमा आफ्नो तस्बिर खिचेर इच्छुक सहभागीहरुले हाम्रो कम्युनिटी मार्फत आफ्नो सेल्फी पोष्ट गर्न सक्नेछन् । पोष्ट गरिएको सेल्फीमा सहभागीले मेकअपको प्रयोग समेत गर्न सक्नेछन् । पोष्ट गरिएका सेल्फीहरु मध्ये विजेता छनोट गर्दा अनिवार्य कमेडी हाउभाउमै खिचिएका सेल्फीलाई प्राथमिकता दिइनेछ ।
त्यसरी खिचिएका तस्बिरहरुमा आएका अत्याधिक लाइक र कमेन्टसँगै ‘सेल्फी किङ’ निर्माण टिमले विजेता छनोट गर्नेछ । माघ ५ देखि माघ २० सम्म सहभागिता जनाउन सकिने यस प्रतियोगिताको विजेताको घोषणा माघ २१ गते हाम्रो पात्रो मार्फत गरिनेछ ।
प्रतियोगिताका विजेतालाई कलाकार तथा निर्देशक अनुप बरालको एक्टर्स स्टुडियोमा ३ महिनाको अभिनय तालिमको छात्रवृति प्रदान गरिनेछ भने अन्य १० जनालाई सान्त्वना पुरस्कार स्वरूप प्रिमियरको पास जनही २ वटाको दरले उपलब्ध गराइनेछ । प्रतियोगिताले ‘सेल्फी किङ’ झैँ कलाकार बन्ने सपना बोकेको व्यक्तिलाई सहयोग गर्नेमा निर्माता दिनेश राउत विश्वस्त छन् ।
यस किसिमको प्रतियोगिता र त्यसबाट कलाकार बन्न चाहनेलाई थोरै भएपनि लाभ पुग्नेमा कलाकार विपिन काकी बताउँछन् । चलचित्रमा उनको श्रीमतीको भूमिका अभिनेत्री लक्ष्मी वर्देवाले निभाएकी छन् । निर्देशन विशाल सापकोटाले गरेका छन् भने कथा पनि उनकै हो । चलचित्र माघ २४ गते रिलिज हुँदैछ ।