Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

१९औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशीप पोखरामा

१९औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशीप पोखरामा

पोखरा : आगामी फागुन ११ देखी १७ (फेब्रुअरी २३ देखी २९) गतेसम्म पोखरामा प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टुर तथा १९औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशीप हुने भएको छ ।

नेपाल हवाई खेलकूद संस्था(ना) र नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघको आयोजना तथा प्याराग्लाइडिङको अन्तर्राष्ट्रिय छाता संस्था फेडेरेशन एरोनेटिक इन्टरनेशनल (एफएआइ)को सहकार्यमा आयोजना हुने सो टुरमा विभिन्न ३० देशका १२५ खेलाडी सहभागी हुने बताइएको छ ।

एशियाका प्याराग्लाइडिङ खेलाडीलाई विश्वकपको सुपर फाइनलसम्म प्रवेशका लागि सन् २०२० मा तीन वटा टुर आयोजना गर्ने योजनाअनुसार पोखरामा पहिलो टुर हुन लागेको नेपाल हवाई खेलकुद संस्थाका निर्वतमान अध्यक्ष एवम् टुर संयोजक योगेश भट्टराईले जानकारी दिए ।

बाँकी दुई वटा टुर भने मागका आधारमा एशियाका अन्य दुई देशमा गरिने छ । हाल विश्वकपमा ऐशियाली खेलाडीको संख्या कम भइरहेको अवस्थामा यस टुरले उनीहरुको संख्या बढाउन मद्दत पुग्ने बताइन्छ ।

‘पोइन्ट’ र ‘र्‍याङकिङ’का आधारमा एशियामा हुने तीनवटा टुरबाट शीर्ष स्थानमा रहने पाँचदेखि आठ जनासम्म खेलाडीले सन् २०२१ मा हुने विश्वकपको सुपर फाइनलमा प्रवेश पाउने उनले जानकारी दिए । सुपर फाइनलमा पुग्ने खेलाडीको सङ्ख्या भने वल्र्डकप कमिटीले तय गर्ने बताइन्छ ।

अहिले खेलाडीको अनलाइन दर्ता गर्ने क्रम जारी रहेको बताउँदै तयारीस्वरुप नेपाल नागरिक उड्डयन प्राधिकरण र राष्ट्रिय खेलकूद परिषद्सँग समन्वय भइरहेको भट्टराईले जानकारी दिए ।

‘क्रसकन्ट्री’ विधामा स्पर्धा हुने हुँदा तोकिएको स्थानभन्दा केही परसम्म खेलाडी जानुपर्ने भएकाले सुरक्षा संवेदनशीलतालाई हेरेर प्रतियोगिताको समयमा प्रतियोगितास्थल वरपर जहाज वा हेलिकप्टरको उडान रोक्नका लागि समेत प्राधिकरणसँग आग्रह गरिएको नाले जनाएको छ ।

प्रतियोगिताबाट साहसिक खेल प्याराग्लाइडिङको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रवर्द्धन हुने भएकाले भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।