काठमाडौँ । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले अभिनेता दीपकराज गिरीलाई प्रेम दिवस अर्थात भ्यालेन्टाइन डेको शुभकामना दिएकी छन् । उनले इन्स्टाग्राम मार्फत दीपक र आफ्नो तस्बिर सेयर गर्दै ‘ह्याप्पी भ्यालेन्टाइन डे’ भन्दै शुभकामना दिएकी हुन ।
उनले सेयर गरेको तस्बिरमा दीपक र दीपा रोमान्टिक देखिन्छन् । दीपाको यो पोस्टमा थुप्रैले ‘ह्याप्पी भ्यालेन्टाइन डे’को शुभकामना दिएका छन् । दीपाश्रीले सम्भवतः पहिलोपटक दिपकराजसँग अन्तरंग सम्बन्धमा रहेको खुला जनाउ दिएकी छन् । हास्य टेलिश्रृंखला ‘तीतो सत्य’को समयदेखि उनीहरू प्रेममा रहेकोबारे चर्चा हुने गथ्र्यो । यसलाई दुवैले विभिन्न अन्तर्वार्ताहरूमा समेत अभिव्यक्त गर्दै आएका छन् ।
१४ फेब्रुअरीलाई विश्वभर भ्यालेन्टाइन्स डेका रूपमा मनाउने प्रचलन छ, जहाँ प्रेमी–प्रेमिकाले एक–अर्कासँग प्रेमालाप र शुभकामना साटासाट गर्छन् । यही दिन दीपाश्रीले दिपकराजसँगका रोमान्टिक तस्बिरहरू इन्स्टाग्राममा राखेर लेखेकी छन्– ह्याप्पी भ्यालेन्टाइन्स डे । यसमा उनले प्रेमको इमोजी पनि प्रयोग गरेकी छन् ।
यो पोस्टमार्फत दीपाश्रीले दिपकसँगको प्रेम सम्न्धब सार्वजनिक गरेको धेरैको बुझाइ छ । तर, दिपक विवाहित हुन् । उनका हुर्किसकेका दुई छोराछोरी पनि छन् । श्रीमतीसँग उनको सम्बन्ध बिग्रिएको छैन ।
कलाकारितामा लामो समयदेखि दिपक र दीपा सहकार्य गर्दै आएका छन् । उनीहरूको ‘अस्वाभाविक’ सामिप्यतालाई लिएर प्रश्नहरु उठ्दै आएका थिए । तर, दुवैले आफूहरू राम्रो साथीमात्र भएको बताउने गरेका छन् । प्रेमको स्वीकारोक्ति सार्वजनिकरुपमा गरेका थिएनन् । यद्यपि, विभिन्न अन्तरवार्ताहरूमा एक–अर्काप्रति उनीहरुको झुकाव स्पष्टै झल्किन्छ ।
दीपाको यो पोस्टमा अहिलेसम्म दिपकराजको कुनै रियाक्सन आएको छैन । आज भ्यालेन्टाइन्स डेमा दिपकराजले सामाजिक सञ्जालमा पत्नीलाई शुभकामना लेखेका छैनन् । इन्स्टामा दीपालाई पनि कुनै जवाफ फर्काएका छैनन् । तर, यो विषयमा अब उनले निर्णायक स्पष्टीकरण दिनुपर्ने स्थिति आएको छ ।
रेडियो कार्यक्रम ‘धनियाँकी दुनियाँ’ बाट दिपकराज र दीपाश्रीको सहकार्य सुरू भएको थियो । त्यसपछि टेलिश्रृंखला तितोसत्यबाट उनीहरुको सम्वन्ध झांगिएको हो । तितो सत्य बन्द भएपछि उनीहरूले फिल्ममा सहकार्य गरिरहेका छन् । उनीहरूले मिलेर ७ वटा चलचित्र बनाइसकेका छन् । दीपक यतिखेर पारिवारिक घुमघामका लागि अस्ट्रेलियामा छन्। कलाकारहरूले भने ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ भन्दै शुभकामनाका शब्द कमेन्टमा थपिरहेका छन्।
