Shares
Shares
गायिका आस्था राउतको बिरोध गर्दै गायक अमृत सापकोटा र राधिका हमालले आफ्नो आक्रोश प्रस्तुत गरेका छन।आस्था राउतले आफ्नो कलाकारिताको हैसियत समेत भुलेको भन्दै उनीहरुले आक्रोश ब्यक्ल्ट गरेका हुन्।त्रिभुवन विमानस्थलमा भेटिएका चिया छानेको गीतका गायक अमृत सापकोटा र राधिका हमालले उक्त बिषयको जानकरी दिएका थिए।
एता राधिका हमालले प्रहरी भनेको देशको रक्षक रहेको संगै कलाकार देशको गहना भएकै कारण हामीले एक अर्कालाई सघाउन पर्नेमा झगडा गरेको भन्दै उनले सबै गल्ति आस्थाकै रहेको जमेत जिकिर गरेकी छिन।आस्था राउतलाई प्रहरीले समाउने समेत भएको छ उनि माथी प्रहरीले पक्राउ गर्ने अधिकार पाए संगै कलाकारले थप आक्रोश व्यक्त गर्न थालेका छन।हेरौ भिडियो
यो पनि पढ्नुहोस
प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा गायिका आस्था राउतलाई पक्राउ गर्ने तयारी गरेको छ । सिक्किमबाट आइतबार काठमाडौं फर्कन लागेकी आस्थाले विमानस्थलबाट सिधै प्रहरी हिरासतमा जानुपर्ने हुन सक्छ ।
आफूलाई विमानस्थलमा अमर्यादित व्यवहार गरेको भन्दै आस्थाले फेसबुकमा प्रहरीलाई गालीगलौज गरेकी थिइन् । विमानस्थलमा सुरक्षा जाँचका क्रममा बसेकी महिला प्रहरीले आफूलाई ‘तँ’ भन्दै दुर्व्यवहार गरेको उनको दाबी छ । उक्त घटनाको सीसीटिभी फुटेज प्रहरीले सार्वजनिक गरिसकेको छ । फुटेजमा आस्था र प्रहरीबीच विवाद भएको देखिए पनि आवाज नभएकाले अपशब्द प्रयोग भएको वा नभएको यकिन गर्न सकिंदैन ।
अहिले सामाजिक सञ्जालमा आस्थाको पक्ष र विपक्षमा बहस तीव्र छ । धेरैले चाहिँ आस्थाकै गल्ती औंल्याएका छन् । हुन पनि प्रहरीलाई मर्यादित बन्न सिकाउने आस्थाले फेसबुक लाइभमा आफैं अमर्यादित भाषा प्रयोग गरेकी थिइन् । उक्त घटनामा संलग्न महिला प्रहरी रमिता श्रेष्ठले आस्थाविरुद्ध प्रहरीमा अभद्र व्यवहारको उजुरी गरिन् । त्यसैका आधारमा प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेको हो ।
एउटी चर्चित गायिकालाई संकट आइलाग्दा कलाक्षेत्रका व्यक्तिहरु भने अधिकांश मौन छन् । जसले मुख खोलेका छन्, उनीहरु पनि आस्थालाई समर्थन गर्न सकेका छैनन् । अनलाइनखबरले थुप्रै संगीतकर्मीहरुसँग कुरा गर्न खोज्दा उनीहरु टक्टकिए ।
संगीतकार सुरेश अधिकारीसँग यस विषयमा कुरा गर्न खोज्दा उनले आफूलाई घटनाको विषयमा केही थाहा नभएको दाबी गरे । आफू निजी काममा व्यस्त रहेकाले समाचारमा ध्यान दिन नपाएको उनको भनाइ छ ।
आस्थासँग भ्वाइस अफ नेपालमा सँगै कोच गरेका गायक प्रमोद खरेल पनि यस विषयमा बोल्न चाहेनन् । उनले आफूलाई टन्सिल भएको भन्दै बोल्न असमर्थ रहेको बताए । थप केही कलाकारहरुलाई सम्पर्क गर्दा उनीहरु पनि बोल्न चाहेनन् ।
संगीतकार अर्जुन पोखरेलले भने सीसीटिभी फुटेज हेरेकै भरमा कसको गल्ती छ भनेर खुट्याउन नसकिने प्रतिक्रिया दिए । उनले भने, ‘भिडियोमा आवाज सुनिएको छैन । त्यसैले यसैको गल्ती भन्ने छुट्याउन गाह्रो छ । हामीले निष्पक्ष भएर हेर्ने हो भने त्यहाँ केही आस्थाकै गल्ती देखिन्छ ।’
अर्जुनको भनाइमा आस्थाले लाइभमा आएर बोल्न जरुरी थिएन । उनी भन्छन्, ‘आस्थाले भिडियोमा त्यसरी नबोलेको भए हुने थियो । त्यहाँ बोलिएका शब्दहरुले उनलाई गलत बनाएको छ । त्यसैको कारण पनि उनले गाली खाइरहेकी छिन् ।’
गल्ति जसको भए पनि समझदारीमा समाधान निकाल्नुपर्ने अर्जुनको भनाइ छ । उनले थपे, ‘मान्छेबाट नै हो गल्ती हुने । त्यसलाई एउटा पाठको रुपमा हेर्नुपर्छ । त्यसैले गल्ती आस्थाको भए उनले माफी माग्नुपर्छ ।’
गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा सीसीटिभी फुटेज हेरेर कसको गल्ती हो भनेर छुट्याउन नसकिने बताउँछन् । उनले भने, ‘एअरपोर्ट जस्तो संवेदनशील ठाउँको फुटेज किन बाहिर ल्याइयो भन्ने नै ठूलो प्रश्न हो । यस्तो फुटेज बाहिर ल्याउनु हुन्न जस्तो लाग्छ मलाई ।’आस्थाको लाइभ भिडियोमा बोलिएका शब्दहरु गलत भएको कुरालाई नकार्दैनन्, उनी । बास्कोटाले भने, ‘उनले आवेगमा धेरै कुराहरु बोलेकी छिन् । केही गलत कुराहरु पनि बोलेकी छिन् । त्यसैले म भन्छु, सामाजिक सञ्जाल भनेको धेरै रिस र धेरै खुसी भएको बेला चलाउने कुरै होइन । यसले पक्कै हानी नै गर्छ ।’
गायक राजेशपायल राईले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै आस्थालाई सुझाव दिएका छन् । माया लिन सक्ने कलाकारले घृणालाई पनि स्वीकार्न सक्नुपर्ने उनको टिप्पणी छ ।
यस्तो छ राईको स्टाटस
‘एअरपोर्टमा साहरुख खानको त झन् कट्टु नै चेक गरेको थियो । त्यो उसको अधिकार हो । अब रह्यो पुलिसले कस्तो व्यवहार गर्यो ? चेकिङमा कफी, पानी लान पाइँदैन । वाल्लेट (मनी ब्यग ) पनि पाइँदैन । उनी बैनी हुन् । राम्री गायिका हुन् । अझ एक रियलिटी शो ‘द भ्वाइस’की कोच पनि हुन् । आफ्नो इज्जत ठाउँमा राख्नु पर्छ । माया लिनेले घृणा पनि सहनु सक्नु पर्छ । तब न हामी कलाकार, उसै त हामी नाथे कलाकार । धेरै रुन्ची नबन, अब तिमी ठूली भइसक्यौ । आस्था र एअरपोर्टमा खटिएका कर्मचारी दुबै सुध्रिन आवश्यक ।’
अभिनेता तथा निर्माता दीपकराज गिरीले पनि यस विषयमा लामो स्टाटस लेखेका छन् । उनको स्टाटस मार्मिक र सन्तुलित पनि छ । उनले अन्य देशहरुमा एयरपोर्टमा कलाकारलाई विशेष व्यवहार हुने गरे पनि नेपालमा भने नेतालाई मात्रै ‘भीआईपी’ मानिने उल्लेख गरेका छन् ।
गिरीको स्टाटस जस्तो तस्तै:
प्रिय आस्था बहिनी…
यो बिषयमा लेख्न मन थिएन तर तिमीले निरन्तर गाली खाएको देखेर किन किन लेख्न मन लाग्यो । म पनि विगतमा यस्ता धेरै घटनाहरूबाट गुज्रेको छु । यस्तै प्रकारका घटनाहरूबाट पाठ पनि सिकेको छु ।
समस्या कहाँबाट आयो भने तिमीले भिडको सामना गर्दै प्रहरीलाई चेक गराउँदै अघि बढ्नुपर्थ्यो । भिड र संवेदनशील क्षेत्रमा काम गर्ने प्रहरी जवानहरूलाई छुट्टै प्रेसर हुन्छ । उनीहरूलाई छुट्टै दबाब हुन्छ । उनीहरू १० घन्टे लामो ड्यूटीमा हुन्छन्, सानो गल्ती भए जागिरै संकटमा पर्छ । त्यस्तो बेला उनीहरूबाट अलि रूखो व्यवहार निस्किन्छ पनि । त्यहाँ पनि निस्कियो होला ।
तर हामी कलाकार वा सेलेब्रिटिजको गल्ती नै नभए पनि समाचार बाहिर आएपछि गल्ती हाम्रै देखिने रहेछ। सेलेब्रिटिज भनेको सेतो कपडा रहेछ अरू रङमा दाग नदेखिए पनि सेतोमा सानो दाग पनि देखिहालिन्छ । अतः सहनुपर्ने हामीले नै रहेछ । विदेशमा प्रायस् यस्तो घटना हुँदैन किनकि त्यहाँ नेतामात्रै भिआइपी हुँदैनन् । धेरै कर तिर्ने व्यापारिहरू, नाम चलेका खेलाडी, कलाकारहरूलाई पनि भिआइपी मानिन्छ र सुविधाजनक ढंगले चेकजाँच हुन्छ र भिडको सामना गर्नु पर्दैन । यस्तो दुर्घटनाको सम्भावना कम हुन्छ तर यो देशमा नेता मात्रै भिआइपी हो ।
यो संवेदनशीलतालाई हामीले बुझ्नुपर्छ किनकि हामी भिडबाट नै गुज्रिनु पर्छ । त्यस्तो अवस्थामा हामी सतर्क हुनैपर्छ ।
मापसे काण्डमा म पनि परेँ । गल्ती मेरै थियो। तर जब म प्रहरीको पञ्जामा परेँ । ममाथि भएको दुर्व्यवहार डर लाग्दो नै थियो तर मेरो कुरालाई कसैले गम्भीरतापूर्वक नै लिएनन् । यसबारे हामीले नै होसियार हुनुपर्ने रहेछ । हामीलाई अन्याय नै भयो भने पनि ‘कलाकार हो फुर्ती देखायो होला फस्यो नि’ भनिँदो रहेछ । त्यसैले सकेसम्म यस्तो झमेलामा नपर्नु र परिहाले पनि माफ पाऊँ भनेर छट्किनु नै सबैभन्दा उत्तम रहेछ । तिमीलाई पनि त्यस्तै केही रूखो व्यवहार प्रयोग भयो होला । तर गल्ती तिम्रो फेसबुक लाइभले गर्यो । त्यसमा प्रयोग भएका शब्दले समस्या उत्पन्न गरायो ।
तिमीलाइ केही नभई त्यस्तो भनिनौ होला । तर बाहिरबाट हेर्दा तिमी नै अमर्या्दित देखियौ । अतस् यो घटनालाई तिमीले हामी सबैले एउटा पाठको रूपमा लिनुपर्छ । जे हुन्छ राम्रैको लागि हुन्छ ।
आज कतिपय स्ट्याटसहरू ‘कलाकार यस्तै घमण्डी हुन्छन्न् भनेर आउँछ दुःख लाग्छ ।
त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनीसँग म माफी माग्छु । तिमी पनि माग। सेलिब्रेटी कल्चर हाम्रो देशमा छैन । हामी सामान्य नागरिक नै हौँ । यो वास्तविकतालाई बुझौँ ।
नायिका करिश्मा मानन्धरले आइतबार स्टाटस लेखेकी छिन् । उनले असभ्य भाषा बोल्ने अधिकार कसैलाई नभएको उल्लेख गरेकी छिन् । आस्थाले पहिलोपटक यो अनुभव लिएको भन्दै करिश्माले आफूले यस्तो भोगेर वाक्क भइसकेको उल्लेख गरेकी छन् ।
‘असभ्य भाषा बोल्ने अधिकार कसैलाई छैन । पुलिस पनि नेपाली मानिस हुन् । दिनभरी दिक्क लाग्ने कामले वाक्क छन् होला । तर, भाषाको प्रयोग गर्दा ध्यान पुर्याउनु होला,’ करिश्माले लखेकी छन् ।
उनी थप्छिन्, ‘आवेगमा आस्थाले केही त्रुटि बोल्ने समयमा गरिन् होला । तर, के नेपाल पुलिसबाट ‘तँ’ नखाने कोही छौं ? त्यो पनि बिनाकारण ? हामी त यो कामको स्ट्रेस हो भनेर हाँसेर छोडिदिन्छौं । तर, अब केटाकेटीले रियाक्ट गरिन् । त्यही हो ।’
को हुन् आस्था राउत ?
नेपाली गीत संगीतको दुनियामा चिनिएकी गायिका हुन् आस्था । उनले केही सोलो एल्बमहरु निकालेकी छिन् । ‘खोइ त मलाई झुम्के बुलाकी’ बोलको गीतबाट चर्चामा आएकी आस्थाको ‘चौबन्दीमा पटुकी, तिन मोहोरको धागो, सालको पात टपरी, नाकैमा फुली’ लगायत गीत हिट छन् ।आस्थाले केही चलचित्रको गीतमा पनि आवाज दिएकी छिन् । उनले आवाज दिएको चलचित्र ‘मायाज बार’को गीत ‘माया यो माया’ पनि हिट भएको थियो । यस अलवा उनले ‘ढुवानी’ र ‘लंका’ चलचित्रको गीतमा पनि आवाज दिएकी छिन् ।
अहिले आस्था गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा पनि आवद्ध छिन् । ‘द भ्वाइस अफ नेपाल सिजन २’ मा उनी कोच थिइन् ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209