जेनजी पुस्ताले सोमबार सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्दैछन् । जेन जीका प्रतिनिधिले आन्दोलन गर्न जिल्ला प्रशासन काठमाडौंबाट अनुमति लिएका छन् । आज बिहान नौ बजे जेन जेडहरु माइतीघरमा भेला भएर नयाँ बानेश्वरसम्म मार्च पास गर्दैछन् । उनीहरुले आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् ।आन्दोलनकारीले राजनीतिक दल र नेताहरूलाई यो प्रदर्शनलाई आफ्नो स्वार्थका लागि प्रयोग नगर्न चेतावनी दिएका छन् ।
उनीहरूले यो आन्दोलन कुनै राजनीतिक लाभका लागि नभई नेपालको भविष्यका लागि भएको स्पष्ट पारेका छन् ।जेन जीले सरकार र राज्यका निकायहरूलाई पनि शान्तिपूर्ण प्रदर्शन गर्ने आफ्नो अधिकारको सम्मान गर्न माग गरेको छ । यदि आन्दोलनमाथि हिंसा वा अवैध बल प्रयोग गरिएमा त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने र त्यस्ता कार्यहरू मानवअधिकार उल्लङ्घन हुने पनि उनीहरूले चेतावनी दिएका छन् ।
केही दिनयता सामाजिक सञ्जाल बन्द भएसँगै नयाँ पुस्ताले यो आन्दोलनको नेतृत्व लिने घोषणा गरेको हो ।उनीहरूले सोमबार माइतीघर मण्डलामा भेला हुने तयारी गरेका छन् टिकटकदेखि सबैतिर अहिले यो ट्रेण्ड चलेको देखिन्छ । चाहे नेताका छोराछोरीका बिलासिता सार्वजनिक गर्ने ‘नेपो बेबी ट्रेण्ड’ होस् या सडक आन्दोलन, जेनजीहरुले घोषणा गरिसकेका छन्, यो भ्रष्टाचार, बेथिति र अनियमितताविरुद्ध नयाँ संघर्ष हुनेछ ।
सामाजिक सञ्जाल बन्द भएको यो अवस्थामा सञ्जालबाटै घोषणा भएका यी आन्दोलनलाई सकारात्मक रुपमा हेर्नुपर्ने टिप्पणी अत्यधिक आइरहेका छन् । पुराना पुस्ताका नागरिकले पनि जेनजीको यो आन्दोलनलाई साथ दिने भन्दै समर्थन जनाइरहेका छन् ।अधिकांशले भनिरहेका छन्– यो आन्दोलन के हुन्छ भन्ने कुराले नेपालमा नयाँ पुस्ताको राजनीतिक चेतनाको स्तरलाई मापन गर्नेछ । यदि युवाहरू साच्चै ठूलो संख्यामा सडकमा उत्रिए भने यसले केवल सरकारलाई मात्र होइन, पूरै राजनीतिक संस्कृतिलाई चुनौती दिनसक्छ ।
सामाजिक सञ्जाल हेर्दा यसमा विशेषगरी टार्गेटमा देखिन्छन्– प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, डा. बाबुराम भट्टराई र उनीहरुका सन्तान । प्रचण्डकी नातिनी स्मिता दाहाल, देउवापुत्र जयवीर देउवालगातका तस्वीर पनि सार्वजनिक भएका छन् । यता जेड वा जेन जी पुस्ताले गर्न लागेको आन्दोलनमा कलाकारहरुले पनि ऐक्यवद्धता जनाएका छन् ।
कतिपय कलाकारहरुले भौतिकरुपमै आन्दोलनमा सहभागी हुने बताएका छन् त कतिले नैतिक समर्थन व्यक्त गरेका हुन् । नायक पल शाह , अनमोल केसी ,केकी अधिकारी , निर्देशक निश्चल बस्नेत देखी चर्चित कलाकार अर्जुन सापकोटा ,रचना रिमाल ,रमेशराज भट्टराई ,शिब परियार लगाएतको समर्थन रहेको छ भने ।यता गायक तथा अभिनेता प्रकाश सपूतले पनि आफ्ना दुई भाइहरु सुनिल र सचीनलाई सम्बोधन गर्दै भोलि हुने जेन जेडको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । भिडियोमा सहित यो समाचार हेर्नुहोस
https://www.facebook.com/laligurashmedianetwork/videos/1314952980089339