काठमाडौँ । मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कारका लागि उत्कृष्ट १० पुस्तकको सूची सार्वजनिक गरेको छ। सोमबार अध्यक्ष कुन्द दीक्षितले सूची सार्वजनिक गर्दै २९८ प्राप्त कृतिमध्ये अन्तिम छनोट गरिएको जानकारी दिएका हुन्।
यस वर्ष छनोटमा अज्ञात (केशवराज ज्ञवाली), इथा (केशव दाहाल), उत्कर्ष (ललित विष्ट), नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास (रोशनकुमार झा), नेवार समुदायका परम्परागत मुकुन्डोनाच (वीणा जोशी राजभण्डारी), परिधि (उमा सुवेदी), महायुग (सीमा आभास), सलह (श्रवण मुकारुङ), स्वस्पर्श (डा. नवराज केसी) र हिउँद (नदीश) परेका छन्।
गुठीले २०७२ सालदेखि प्राप्त पुस्तकहरूमध्ये बढीमा १० कृति छनोट गरी सार्वजनिक गर्दै आएको छ। अन्तिम सूचीमा परेका कृतिमध्ये एकलाई मदन पुरस्कार प्रदान गरिनेछ। २०७५ सालदेखि पुरस्कार राशि चार लाख रुपैयाँ कायम छ।