काठमाडौँ । पुँजी बजारलाई थप बलियो, पारदर्शी र प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले क्षेत्रगत सरोकारवालासँग छलफल गरेका छन्।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा बजारको वर्तमान अवस्था, सुधारका आवश्यकता, नीतिगत व्यवस्था र समग्र अर्थतन्त्रसँग जोडिएका विषयमा छलफल भएको हो।
बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठलगायत सहभागी थिए।
छलफलपछि सेबोन अध्यक्ष भट्टले पुँजी बजार विस्तारका लागि आवश्यक नीतिगत तथा कानुनी सुधारबारे प्रधानमन्त्रीसँग छलफल भएको जानकारी दिए। उनका अनुसार नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेप्से र अर्थ मन्त्रालयसँग सम्बन्धित सुधारका विषय बैठकमा उठाइएको थियो।
प्रधानमन्त्री शाहले पुँजी बजारलाई पुँजी परिचालन, रोजगारी सिर्जना र आर्थिक विकासको महत्वपूर्ण माध्यमका रूपमा अघि बढाउनुपर्ने धारणा राखेको भट्टले बताए। उनले बजारमा लगानीकर्ताको मनोबल बढाउने विषयमा पनि प्रधानमन्त्रीले चासो देखाएको जानकारी दिए।
बैठकमा संस्थागत लगानीकर्ताको भूमिका विस्तार, मार्जिन लेन्डिङ सहज बनाउने, गैरआवासीय नेपालीको लगानी आकर्षित गर्ने, स्टक एक्सचेन्जलाई प्रविधिमैत्री बनाउने तथा बजारमा माग–आपूर्तिको सन्तुलन कायम गर्ने विषयमा सुझाव प्रस्तुत गरिएको थियो।
त्यस्तै, आईपीओ प्रणाली सुधार, १० कित्ते आवेदन प्रणालीको पुनरावलोकन, बुक बिल्डिङ प्रक्रियालाई प्रभावकारी बनाउने, इन्ट्राडे कारोबार सञ्चालन र नयाँ लगानी उपकरण विकास गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।