काठमाडौँ । किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउने सरकारी प्रयासअन्तर्गत एक हजार २५० मेट्रिकटन डीएपी मल सोमबार नेपाल आइपुग्ने भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार ‘ग्लोबल टेन्डर’मार्फत खरिद गरिएको ३० हजार मेट्रिकटन डीएपीमध्ये पहिलो खेप साउन १ गतेदेखि कोलकाताबाट नेपालतर्फ ढुवानी सुरु गरिएको थियो।
मन्त्रालयका अनुसार बाँकी मलको कोलकाता बन्दरगाहमा प्याकेजिङ भइरहेको छ। प्रक्रिया पूरा भएपछि बाँकी खेप पनि क्रमिक रूपमा नेपाल भित्र्याइनेछ। मलको आपूर्ति र वितरण कृषि सामग्री कम्पनीमार्फत गरिने जनाइएको छ।
सरकारले धान रोपाइँको मुख्य समयमा डीएपी र युरिया मलको आपूर्ति तीव्र बनाएको जनाएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता कुमारी चौधरीले किसानको मागअनुसार समयमै मल उपलब्ध गराउने लक्ष्यसहित आयात र वितरण प्रक्रिया अघि बढाइएको बताउँदै यसले हरेक वर्ष दोहोरिने मल अभावको समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।