ललितपुरको नख्खु कारागारमा रहेका रवि लामिछानेले आफ्नो निजी सचिवालयमार्फत जेनजीहरूलाई सन्देश पठाएका छन । आज हुने जेनजीको प्रदर्शनमा समर्थन जनाउदै लामिछानेले ऐक्यबद्धता जनाएका हुन्।
युवा पुस्तालाई सडक प्रदर्शनलाई इतिहासको नयाँ सुरुवातको अवसरको रूपमा लिँदै सचेत, विवेकपूर्ण र सक्रिय रहन आह्वान गरेका छन्। उनले लेखेका छन्, ‘प्रिय जेन्जी तपाईँहरू सडकमा ओर्लँदै हुनुहुन्छ। तपाईँहरुमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुनुपर्छ। शासकहरुले तपाईँहरुलाई विधि र विवेकको शासन त दिएनन् नै, आफ्ना खुसी र दुःख, सफलता र असफलता बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसे।
सत्ता र शक्तिको नशामा चूर अनि घमण्ड र प्रतिशोधको आनन्दमा मग्न यिनीहरूलाई थाहा छैन, तपाईँहरूको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ। भोलिको दिन इतिहासको नयाँ सुरुवातको दिन हो। घुसपैठ हुन सक्छ सचेत हुनुहोस्, उत्तेजित बनाउन सक्छन् विवेक प्रयोग गर्नुहोस्। तपाईँको आफ्नो इतिहास र यो देशको इतिहास पनि तपाईँकै हातबाट लेखिँदै छ। नख्खु जेलको कालकोठरीबाट म तपाईँहरूप्रति शुभेक्षा, सदभाव र ऐक्यबद्दता प्रकट गर्दछु।’ यता रवि लामिछानेकी पत्नी निकिता पौडेलले पनि रवि लामिछानेको सन्देशको पत्रलाई शेयर गर्दै उनले लेखेकी छन मोबाइल नम्बर समेत सेभ गर्न नसक्नेले अनलाइन बाट अध्ययन गरेर भविष्य बनाउने पुस्तालाई शासन गर्न खोजेपछि दुर्घटना त हुने नै भयो !जनताले एक एक हिसाब राखेका छन् । अन्याय र अत्याचारको विरुद्ध धावा बोल्न आँट गर्ने नयाँ पुस्तालाई मेरो समर्थन र ऐक्यबद्धता ।
यसैबिच यता राष्ट्रिय स्वतन्त्र पार्टीले जेन जी पुस्ताले सोमबार गर्ने भनेको भ्रष्टाचारविरुद्धको प्रदर्शनमा पार्टीको संकेतबिना सहभागी हुन कार्यकर्तालाई आग्रह गरेको छ । महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै उक्त प्रदर्शनमा आफ्नो पार्टीको नैतिक समर्थन मात्रै नभएर सहभागीताकै लागि समेत आह्वान गरेका छन् । नवयुवा पुस्ताको यस अभूतपूर्व प्रदर्शनमा सरकारको प्रतिक्रिया एवं वक्रदृष्टिमाथि निगरानी रहने भन्दै जेनजीले उठाएका विषयहरूलाई निष्कर्षमा पुर्याउन अपिल गर्दै जेनजीको यो प्रयासलाई बिथोल्ने, घुसपैठ र दमन गर्ने लगायतका कार्य नगर्न सरकार र सत्तापक्षीय दलहरूलाई खबरदारी समेत गरेको छ ।
पछिल्लो पुस्ताको सडक प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध लगायत समस्त युवाहरूलाई कुनै पनि दलीय संकेत, नारा र परिचय प्रयोग नगरी ऐक्यवद्धता प्रकट गर्न आग्रह गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । जेनजी पुस्ताले सोमबार सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्दैछन् । आज बिहान नौ बजे जेन जेडहरु माइतीघरमा भेला भएर नयाँ बानेश्वरसम्म मार्च पास गर्दैछन् । उनीहरुले आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् ।आन्दोलनकारीले राजनीतिक दल र नेताहरूलाई यो प्रदर्शनलाई आफ्नो स्वार्थका लागि प्रयोग नगर्न चेतावनी दिएका छन् । भिडियोमा सहित यो समाचार हेर्नुहोस
https://www.facebook.com/laligurashmedianetwork/videos/1063422295609544