काठमाडौं, निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि प्रस्तावित प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आवश्यक तयारी र छलफल गर्न राजनीतिक दलहरूलाई असोज ३० गते बैठकमा सहभागी हुन निमन्त्रणा गरेको छ।
आयोगकी आयुक्त डा. जानकीकुमारी तुलाधरका अनुसार विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलहरू तथा पछिल्लो निर्वाचनमा कम्तीमा एक वडा सदस्य विजयी गराएका दलहरूलाई औपचारिक पत्राचारमार्फत छलफलका लागि बोलाइएको हो।
आयोगले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरूलाई छलफलमा सहभागी हुन आग्रह गरेको छ।
यसअघि आयोगले असोज २० गते निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक गरे पनि त्यो कार्यतालिका आयोगको आन्तरिक कार्ययोजनाको लागि मात्र भएको स्पष्ट गर्दै, राजनीतिक दलहरूसँगको छलफलपछि मात्र निर्वाचनको कार्यतालिका लगायतका विषयमा निर्णय हुने आयुक्त डा. तुलाधरले जानकारी दिइन्।