Shares
Shares
काठमाडौँ । सगरमाथा आरोही तथा पर्यटन क्षेत्रमा लामो समय काम गदैँ आएका शिवबहादुर सापकोटाले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल लाई खुला पत्र लेखेका छन । सापकोटाले नेपालमा यहीँ भदौँ २३ र २४ गते भएको जेन जी आन्दोलनलाई लिएर खुला पत्र लेखेका हुन । उनले सुरक्षा निकायको हतियार लुटिएको र यसले विभिन्न क्षेत्र,समाज हुँदै देश नै असुरक्षाको बाटोमा जानसक्ने बताए । सापकोटाले तत्कालै प्रधानमन्त्री र गृहमन्त्रीले प्रहरीको मनोबल उच्च बनाउँदै अराजक गतिविधिमा संलग्नहरुलाई कानुनी कारवाही गरि लुटिएका सबै हतियारहरु फिर्ता ल्याएर जनतालाई सुरक्षित महसुस गराउनु पर्ने माग खुला पत्रमा लेखेका छन ।
उनले आफनो सामाजिक सञ्जाल फेसबुकमा लेखेको खुला पत्र जस्ताको तस्तै
सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यू,गृहमन्त्री ओमप्रकाश अर्यालज्यूलाई मेरो खुला पत्र!!
म शिवबहादुर सापकोटा, यो देशको एक सचेत नागरिक, साथै पर्यटन क्षेत्रमा क्रियाशील एक व्यक्तिका हैसियतले यो खुला पत्र लेख्दैछु।
गत भाद्र २३ र २४ गते देशले फेरि एउटा गम्भीर मोड पार ग¥यो जेनजी आन्दोलनको क्रममा भएका घटना, परिघटना मा धेरै भाइबहिनीहरू र राष्ट्रसेवक प्रहरीहरू सहिद भए उनीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु।
त्यो आन्दोलन आक्रोशबाट त्यसले ल्याएको आर्थिक, सामाजिक र मनोवैज्ञानिक असर हामी सबैले आफ्नै आँखाले देख्यौँ, महसुस गर्यौँ।
राष्ट्रिय धरहरो जल्न थाले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतजस्ता संस्थागत प्रतीकहरू आगोको लप्कामा परे। व्यापारी उद्योगपति नेताहरूको घर, पसल, उद्योगहरू जले अरबौँको क्षति भयो।
तर हाम्रा जेनजी हरूको माग के थियो?
भ्रष्टाचार अन्त्य र सुशासनको सुनिश्चितता जुन माग देशका प्रत्येक इमानदार नागरिकको मुटुमा गुञ्जिरहेको आवाज हो।
हत्या, हिंसा र आगजनी जेनजीको नीतिमा थिएनन्।
तर, आन्दोलनको नाममा अराजक तत्वहरूले प्रहरीको हतियार लुट्ने, चौकी जलाउने, युनिफर्म खोस्ने कार्य गरे यसले देशको कानूनी हैसियत र सुरक्षाको संरचनामा ठुलो चोट पु¥यायो।
तोडफोड र आगजानीमा संलग्न भएका २५० भन्दा बढी व्यक्तिहरूलाई पक्राउ गरेर ल्याइयो गृहमन्त्रीको आदेशमा छाडियो ।
तर प्रश्न उठ्छ
१)जब लुटिएका हतियार अझै फिर्ता आएका छैनन्,
२) जब प्रहरीहरूको मनोबल लगातार खस्किएको छ,
३) जब चौकीहरू जलिरहेका छन्,
त्यस अवस्थामा शान्ति र सुरक्षा कसरी सम्भव हुन्छ?
म प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यूलाई यो खुला पत्रमार्फत यो देशको वास्तविक चीत्कार सुनाउन चाहन्छु हामीलाई स्थायित्व, कानूनी शासन, शान्ति र सुरक्षाको प्रत्याभूति चाहिएको हो, अराजकता होइन।
सुरक्षा निकायको मनोबल गिर्नु भनेको राष्ट्रकै मेरुदण्ड कमजोर हुनु हो।
त्यसैले म यो पत्रमार्फत सरकारलाई निम्न सुझाव र आग्रह गर्न चाहन्छुः
१) सुरक्षा निकायको मनोबल पुनःस्थापना गर्न ठोस कदम चालिनुपर्छ। प्रहरी, सेना, सशस्त्र सबैलाई राजनीतिक प्रभावबाट मुक्त गर्दै निष्पक्ष रूपमा काम गर्ने वातावरण दिनु अत्यावश्यक छ।
२) लुटिएका हतियार र सामाग्रीको खोजी कार्य तुरुन्त सुरु गरी कानूनी कारबाही सुनिश्चित गर्नुपर्छ।
यसमा सरकारको दृढ नेतृत्व र कानूनी संयन्त्रको सशक्त प्रयोग जरुरी छ।
३) आन्दोलनका क्रममा हिंसामा संलग्नहरुमा निर्दोष नागरिकमाथि अन्याय नहोस्, तर दोषी उम्किने अवस्थासमेत नहोस् यही सन्तुलनले न्यायको सम्मान बढाउँछ।
४) उद्योग, व्यवसाय, पर्यटन र कूटनीतिक नियोगहरूको सुरक्षामा विशेष ध्यान दिनुपर्छ।
देशको छवि र लगानी वातावरण जोगाउन सरकारले तत्काल व्यावहारिक सुरक्षा योजना ल्याउनुपर्छ।
५) जनताको विश्वास जित्ने पारदर्शी संवाद र कदम चालिनुपर्छ।
डर होइन, भरोसा र जिम्मेवारीको वातावरण बनाउन सरकार अग्रसर हुनुपर्छ।
प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यू
सुरक्षा निकाय कुनै दलको होइन, राष्ट्रको मेरुदण्ड हो।
ती अधिकारीहरू नै हुन्, जसले विगतमा पनि सरकारलाई जनताको आवाज सुन्न र गलत निर्णय सच्याउन आग्रह गरेका थिए।
त्यसैले, उनीहरूको पेशागत निष्पक्षता र सुझावलाई “असहयोग” नभई राष्ट्रहितको चेतावनीका रूपमा लिनुहोस्।
अन्त्यमा, मेरो एउटै आग्रह
क) राजनीतिक उथलपुथलका बीचमा पनि देशलाई अराजकताको मार्गमा नधकेलौं।
ख)जनताको सुरक्षा, उद्योग व्यवसाय र पर्यटनको विश्वसनीयता नै नेपालको पहिचान हो त्यसको रक्षा सरकारकै प्राथमिकता बनोस्।
सम्माननीय प्रधानमन्त्रीज्यू तपाईं संविधानको व्याख्या गरेर आउनुभएको व्यक्तित्व तपाईंमा आशा र भरोसा छ।
तपाईँ संविधानको पालन गर्नुहुन्छ र संविधानभन्दा विपरीत जानुहुन्न भन्ने आशा र भरोसा हामी सम्पूर्ण जनतामा छ।
राष्ट्र रह्यो भने राजनीति, पद, नीति सबै रहन्छ।
तर राष्ट्र डगमगायो भने कुनै पनि कुर्सीले अर्थ राख्दैन।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209