Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

रोचक संयोग : आन्तरिक सुरक्षाको बागडोर अब दुई गुल्मेलीको हातमा

रोचक संयोग : आन्तरिक सुरक्षाको बागडोर अब दुई गुल्मेलीको हातमा

गुल्मी । देशको सुरक्षा संयन्त्रमा पछिल्लो समय एक रोचक संयोग देखिएको छ–आन्तरिक सुरक्षा व्यवस्थापनका दुई अत्यन्त महत्वपूर्ण जिम्मेवारी अहिले एउटै जिल्लाका व्यक्तिहरूले सम्हालिरहेका छन् । गुल्मीका दुई छोराले यतिबेला देशको शान्ति सुरक्षाको बागडोर सम्हालेका हुन् । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले अधिवक्ता ओमप्रकाश अर्याललाई गृहमन्त्रीको जिम्मेवारी सुम्पिएको छ भने गृहमन्त्रालयकै मातहतमा रहने सुरक्षा निकाय नेपाल प्रहरीको नेतृत्व भने दानबहादुर कार्कीले गरेका छन् । कार्कीले बिहीबारमात्रै आईजीपीको फुली लगाएका हुन् ।

गृहमन्त्री अर्याल गुल्मीको इस्मा गाउँपालिका–६, अम्मपुरका बासिन्दा हुन् । उनी जनहितका मुद्दामा सक्रिय अधिवक्ता तथा कानुनविद् हुन । जसले काठमाडौँ महानगरपालिकाका लागि कानुनी सल्लाहकारका रूपमा समेत काम गरिसकेका छन् । २०३२ पुस १७ गते अमरपुर (हाल इस्मा–६) मा जन्मिएका अर्याललाई ३० भदौ २०८२ मा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारद्वारा गृह तथा कानुन, न्याय र संसदीय मामिला मन्त्रालयको दोहोरो जिम्मेवारी दिइएको थियो।

उता, नेपाल प्रहरीका नयाँ आईजीपी दानबहादुर कार्की गुल्मीको मालिका गाउँपालिका–७, घमिरका निवासी हुन् । इस्मा र मालिका गाउँपालिका भौगोलिक रूपमा एक–अर्कासँग जोडिएका पालिका हुन्, जसले यी दुई प्रमुख व्यक्तित्वबीचको ‘गुल्मी कनेक्शन’लाई झनै रोचक बनाएको छ ।  

कार्कीले २०५४ चैत १८ मा नेपाल प्रहरीमा प्रवेश गरेका थिए। कार्कीको रुची गायन र नृत्य दुवैमा रहेको छ । उनका तीन चार वटा गीतहरू बजारमा आइसकेका छन् । लामो समयदेखि प्रहरी सेवामा समर्पित रहँदै आएका कार्कीले पेसागत दक्षता, अनुशासन र नेतृत्व क्षमताका कारण सहकर्मी तथा वरिष्ठहरूबाट प्रशंसा पाइरहेका छन् । लामो प्रशासनिक, अनुसन्धानात्मक र कमाण्ड अनुभवपछि अन्ततः उनले संगठनको सर्वोच्च पद सम्हाल्ने अवसर पाएका हुन् ।

देशभरि शान्ति–सुरक्षा, कानुन कार्यान्वयन, संवेदनशील निर्णय तथा संकट व्यवस्थापनजस्ता चुनौतीपूर्ण विषय अहिले यी दुई गुल्मेली नेतृत्वकै काँधमा छन् । गृहमन्त्री अर्यालको नीति–निर्देशन र आईजीपी कार्कीको कार्यान्वयन क्षमताले अबको सुरक्षा मोडेल कस्तो बन्छ भन्ने चासो स्वाभाविक रूपमा बढेको छ। देशको उच्चतम आन्तरिक सुरक्षा संरचनाका शीर्ष दुई पदमा एउटै जिल्लाका व्यक्तिहरूको उपस्थिति आफैँमा दुर्लभ र चर्चामूलक संयोग बनेको हो ।