Shares
Shares
लगनको निम्ति वर्षभरिकै राजा मानिने "मङ्सिर" महिना धेरैको लागि हर्ष, उमङ्ग र उल्लासले भरिएको उत्सव हो। चखेवाका जोडी जस्तै वर्षौंदेखि कुरिरहेका प्रेमी प्रेमिकाहरूको लागि जिन्दगी साटासाट गर्ने सुनौलो अवसर पनि मङ्सिरले दिन्छ। खुसीले गदगद भई मनभित्र अटेसमटेस गरी गुम्सिरहेका कुरा फेसबुकको सहाराले भन्छन् र लेख्छन् स्टाटस-
प्रिय जिन्दगी ! म्यारिड टु..... प्रेमिकाको नाम। कमेन्टमा थुप्रै आफन्तले ठोक्छन् "ह्याप्पी म्यारिड लाईफ "। खोजेर भेटिँदैन, मागेर केटी पाइँदैन। भन्नेहरू पनि थुप्रै छन्।
पिआरवाला छोरो वा हरेक कुराले योग्य उमेर पुगेको छोराको १० गाउँ डुलेर भएपनि बल्ल तल्ल मागी विवाह गरेर बाजातालमा उफ्रिने आफन्तीहरू ले धुमधाम मच्याइरहेका छन्। टाढा टाढाका आफन्तीहरू बिहेकै निम्ति धाउँछन् कहिल्यै नआउने पाहुनालाई पनि बिहेले अवसर जुराइदिन्छ र सबैसँग भेटघाट हुने समेत अवसर दिन्छ। बल्ल उनीहरूलाई चियाको चुस्की जस्तै गुलियो स्वाद आउँछ। दराजमा थन्क्याएर राखेका कोटहरू निकालिँदैछन्। सम्हालेर राखेका गहनाहरू गलामा झुन्डाइएका छन्। महिलाहरू टपरी फुट्दै रत्यौलीको पर्खाइमा छन्।
कसैले निम्तोको लागि आफन्तको लिस्ट तयार पार्दैछन् कोही पुरुषहरूले मासु, पुलाउ तरकारी लगायतका सामग्री जुटाएर भोजभतेरको व्यवस्थापन मा तल्लिन भएर लागेका छन्। भनिन्छ नि- 'तेरो बाउको बिहे देख्लास्' जसलाई जताकतै दगुरेर सबै काम सम्हाल्न परेको छ, एकछिन फुर्सद छैन। हो, यस्तै कसैलाई महसुस भएको छ। सजिलो नभएको ठान्छ ऊ। तर पनि साथीको, छिमेकीको, इष्टमित्रको वा आफन्तीको बिहे भन्दा हुरुक्कै भई छमछम बाजातालमा नाचेर,गाएर हरेक तवरले खुसी साटासाट गरेर रमाइरहेका छन्। बिहान उठ्ने बित्तिकै पिउने मिठो चियाको गुलियो स्वाद यो मङ्सिर महिनाले दिँदैछ कसैलाई। कुनै कुनै कुराहरू महसुस हुन्छ, अनुभूति गरिन्छ। तर शब्दमा व्यक्त गर्न सकिन्न। हुन, त पहिला पहिला जस्तो जबरजस्ती मागी विवाह गरेर बिहे गरिदिने प्रचलन छैन। आपसी सहमति, समझदारी र कुराकानीले बिहे टुङ्ग्याइन्छ। तर पनि केही वियोगले छटपटाइरहेका प्रेमी प्रेमिकाहरूको व्यथा कथामै सीमित रहन्छ। 'सुन छोडेर पित्तल लगाउने' चलन नेपालीहरूमा छैन।
त्यस्तै राम्रो अवसर आउँदा बित्तिकै आफ्नै प्रेमी वा प्रेमीकालाई लात हानेर नयाँ मान्छेसँग सम्बन्ध गाँस्न कम्मर कस्नेहरूको पनि कमी छैन यहाँ। अधिकांशको बाध्यता, विवशताले छाती चिरिन्छ।अर्कोसँग रमाउनेलाई त के थाहा? पीडा त गुमाउनेलाई हुन्छ। धेरैलाई मङ्सिरले यो अनुभूति पनि गराउँदो हो। सुरुमा चियाको स्वाद जस्तै लिइएका वात, मिठा संवाद! सानो सानो कुरामा रिसाउने, झर्किने गर्दै अब चियापत्ति जस्तै तितो हुन थाल्छन। त्यसैले पनि मङ्सिर महिनालाई चियापत्तीको रुपमा अर्थ्याइदिए। बिहेमा सात फन्को लगाएर गरेका वाचा त तोडिन्छन् भने बिहे अघिका बाचा, कसम, बन्धन सामान्य लाग्लान् कसैलाई। जुनीभरि सँगै रहने,भविष्यका मिठा मिठा सपना देख्ने, पारिवारिक योजना बनाउने लगायत थुप्रै थुप्रै असम्भव पहाडका थुप्राहरु थुप्र्याएर एकले अर्कोलाई घात गर्दा कति असर, कति चोट पर्छ होला ? झुटै झुटमा ठडिएको महल भत्कन के बेर लाग्छ र ? जब, भरोसा नै नभएपछि।
कसैको जीवनमा यो पनि मेल खाँदो हो। एउटालाई आश देखाउने, अर्कोसँग जिन्दगी जिउने...चाहे केटा होस् या केटी। जसले विश्वासघात काम गर्छ। भरोसा गर्ने व्यक्तिलाई निकै चोट पर्न सक्छ। परिवारमा, समाजमा बिहे कहिले गर्छस् ? भनेर प्रश्नहरूको पहाड तेर्स्याउने थुप्रै आफन्ती हुँदा पनि झुठो मुस्कान बाहेक केही दिन नसक्ने प्रेमी प्रेमिकाहरुका लागि मङ्सिर कस्तो महिना हो भनेर परिभाषा दिने? वियोगी, एक्लोपन निराशता एवं ब्ल्याक होल ठान्छन् मङ्सिर। उनीहरूका लागि भय, डर, त्रास एवं विवशताको बोझिलो भारी हो -मङ्सिर।
कहिलेकाहीँ फरक दृष्टिकोणबाट फेसबुकमा उत्रने, स्याड स्टोरी हाल्ने! मनबाट चिच्याएर भन्न नसकेका कुरा फेसबुकको मद्दतले बोल्ने पागल प्रेमीहरूको लागि मङ्सिर कसरी अर्थ्याउने? चोखो माया अँगालेर बसिरहने, पर्खिरहने उसकै यादमा तड्पिरहने प्रेमीको मन कति कहाली लाग्दो हुँदो हो? साँच्चै भनौ भने त्यस्तो प्रेमी त रस निचोरेको कागतीको छोक्रा बराबर नै हुन्छ। उसले चियामा कुनै पनि मिठास भेट्दैन। भेट्छ त केवल आफ्नै प्रेमी / प्रेमिकाले जवाफमा दिएको अनेक कुरा। थप एक, तिरस्कार ! धोका एवं पागलपन। त्यसैले सफल जोडीहरूका लागि मात्रै चिया हो मङ्सिर। धेरैको लागि त चियापत्ती भन्दा फरक पर्दैन।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209