Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

ओली र बालेन बिचकाे चुनावी भिडन्त निश्चित,महानगर प्रमुख बाट राजीनामा दिनेसम्मकाे चर्चा

ओली र बालेन बिचकाे चुनावी भिडन्त निश्चित,महानगर प्रमुख बाट राजीनामा दिनेसम्मकाे चर्चा

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्। विश्वस्त स्रोतका अनुसार कुनै अप्रत्याशित राजनीतिक परिवर्तन नभए बालेन शाह ओलीकै निर्वाचन क्षेत्र झापा–५ बाट चुनाव लड्ने लगभग निश्चित भएको छ।

स्रोतका अनुसार उम्मेदवारी दर्ताको समयमा बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिन सक्ने सम्भावनाबारे समेत छलफल भइरहेको छ। यसअघि चुनाव लड्ने–नलड्ने विषयमा दुविधामा देखिएका शाह अहिले भने चुनावी मैदानमा उत्रिने निर्णय नजिक पुगेको स्रोतले जनाएको छ।

यसैबीच, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा बालेन शाह प्रवेश गर्ने सम्भावना कम रहेको बताइएको छ। स्रोतका अनुसार चुनावी सहकार्य हुन सक्ने भए पनि शाह स्वयं रास्वपामा प्रवेश गर्ने सम्भावना न्यून छ। बालेन शाहले निर्वाचन आयोगमा दर्ता भइसकेको राष्ट्रिय देश विकास पार्टी को नेतृत्व गर्दै चुनाव लड्ने तयारी गरिरहेका छन्। उक्त पार्टीको चुनाव चिन्ह लौरो रहेको छ।

झापा–५ एमाले अध्यक्ष ओलीको बलियो निर्वाचन क्षेत्र मानिन्छ। अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा राप्रपा र एमालेको साझा उम्मेदवार बनेका ओलीले ५२ हजार ३१९ मत प्राप्त गर्दै भारी मतान्तरले विजय हासिल गरेका थिए। कांग्रेसका उम्मेदवारले २३ हजार ७४३ मत ल्याएका थिए भने रास्वपाका उम्मेदवारले करिब ११ हजार मत प्राप्त गरेका थिए। यस क्षेत्रमा राप्रपाको समेत उल्लेख्य मत आधार रहेको छ।

ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि एक टेलिभिजन अन्तर्वार्तामा वर्तमान प्रधानमन्त्रीलाई झापा आएर आफूसँग चुनाव लड्न सुझाव दिएका थिए। यही पृष्ठभूमिमा काठमाडौं महानगरका मेयर बालेन शाह नै ओलीविरुद्ध झापाबाट चुनाव लड्ने चर्चाले आगामी निर्वाचनलाई थप रोचक बनाउने देखिएको छ।

फागुन २१ मै निर्वाचन हुने वा नहुने विषयमा बहस चलिरहँदा अब करिब ७० दिन मात्र बाँकी छन्। संसद पुनर्स्थापनासम्बन्धी मुद्दामा अदालतको फैसला आउन बाँकी रहेकाले राजनीतिक अन्योल कायमै छ। तर यदि संसद पुनर्स्थापना नभई तोकिएकै मितिमा निर्वाचन भए झापा–५ यसपटक देशकै प्रमुख चुनावी केन्द्र बन्ने देखिन्छ।