Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सर्लाहीमा शीतलहरको असर, चिसो बढेपछि विद्यालयमा बिदा

सर्लाहीमा शीतलहरको असर, चिसो बढेपछि विद्यालयमा बिदा

काठमाडौँ । तराई क्षेत्रमा केही दिनयता शीतलहर तीव्र हुँदै जाँदा सर्लाहीका स्थानीय तहहरूले विद्यालय बन्द गर्न थालेका छन्। कठ्याङ्ग्रिदो चिसोका कारण पठनपाठन प्रभावित भएपछि विद्यार्थीको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै बिदा दिइएको हो।

चन्द्रनगर गाउँपालिकाले अत्यधिक चिसोका कारण आइतबारदेखि पुस २५ गतेसम्म गाउँपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा बिदा घोषणा गरेको छ। पुस २६ र २७ गते सार्वजनिक बिदा रहेकाले विद्यालय पुस २८ गतेदेखि नियमित सञ्चालनमा आउने जनाइएको छ।

यसैगरी हरिवन नगरपालिकाले पनि चिसो र शीतलहरले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै पुस १६ गतेदेखि जाडो बिदा लागू गरेको छ। नगरपालिकाले सबै विद्यालयलाई बिदा कार्यान्वयन गरी आवश्यक जानकारी शिक्षा शाखामा बुझाउन आग्रह गरेको छ।

स्थानीय तहका अनुसार चिसो अझै केही दिन कायम रहने सम्भावना रहेकाले सावधानीका रूपमा यो निर्णय लिइएको हो। चिसो बढेसँगै विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएको र भौतिक पूर्वाधार कमजोर भएका कक्षाकोठामा पढ्न थप कठिनाइ भएको विद्यार्थीहरूको गुनासो छ।

पुस सुरु भएयता बढेको कठ्याङ्ग्रिदो चिसोले तराई क्षेत्रको जनजीवन प्रभावित बनाइरहेको छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा, अशक्त तथा विपन्न वर्ग चिसोबाट बढी प्रभावित भएको जनाइएको छ।