Jul 24 2026 | २०८३, श्रावण ८ गते

Jul 24 2026 | २०८३, श्रावण ८ गते

बाजुरामा अविरल वर्षा, बाढी–पहिरोले १६ घरधुरी प्रभावित र सडक अवरुद्ध

बाजुरामा अविरल वर्षा, बाढी–पहिरोले १६ घरधुरी प्रभावित र सडक अवरुद्ध

काठमाडौँ । बाजुरामा लगातारको वर्षापछि आएको बाढी र पहिरोले जनजीवन प्रभावित भएको छ। जिल्लाका विभिन्न स्थानमा घर, सडक, सिँचाइ संरचना र खेतीयोग्य जमिनमा क्षति पुगेको छ भने जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

सदरमुकाम मार्तडी नजिकैको सेलाघाटसहितका क्षेत्रमा बाढी तथा पहिरो आएपछि जिल्ला प्रहरी कार्यालय बाजुराको टोली राति नै घटनास्थल पुगेर उद्धारमा खटिएको थियो। प्रहरीले जोखिममा रहेका नागरिकको उद्धार गर्नुका साथै प्रभावित परिवारका सामान सुरक्षित स्थानमा सारेको जनाएको छ।

बडिमालिका नगरपालिका–९ को सेलागाड क्षेत्रमा पहिरो खस्दा १६ घरधुरी प्रभावित भएका छन्। तीमध्ये तीन घर उच्च जोखिममा परेका छन् भने १३ घर जोखिममा रहेको प्रहरीले जनाएको छ। उच्च जोखिममा रहेका घर बस्न नमिल्ने अवस्थामा पुगेका छन्, जहाँ २२ जना प्रभावित भएका छन्। अन्य जोखिममा रहेका घरधुरीमा ८३ जना बसोबास गर्छन्।

वर्षाका कारण साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ। सडक बन्द हुँदा छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालन प्रभावित भएका छन्। त्यस्तै, राप्का क्षेत्रमा रहेको टोट्के सिँचाइ नहरको २३० मिटर प्लास्टिक पाइप र २५ मिटर पक्की नहर बाढीले बगाएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बाजुराका करिब १५० बस्ती बाढी र पहिरोको उच्च जोखिममा छन्। जिल्लाका अधिकांश स्थानीय तहका बस्ती वर्षायाममा प्राकृतिक विपद्को जोखिममा पर्ने गरेका छन्।

जोखिमयुक्त बस्ती स्थानान्तरणको आवश्यकता औंल्याइँदै आए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। भौगोलिक रूपमा भिरालो र पहिरोप्रवण रहेको बाजुरामा वर्षेनी विपद्का घटना दोहोरिने गरेका छन्।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले पूर्वसूचना, जनचेतना र सतर्कताले विपद्बाट हुने क्षति कम गर्न सकिने बताएका छन्। उनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आधिकारिक सूचनाको पालना गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।