Jul 24 2026 | २०८३, श्रावण ८ गते

Jul 24 2026 | २०८३, श्रावण ८ गते

बजेटका ८ सुधार कार्यक्रम कार्यान्वयनमा उद्योगमन्त्री यादवको जोड, अर्थमन्त्री वाग्लेले दिए आवश्यक सहयोगको प्रतिबद्धता

बजेटका ८ सुधार कार्यक्रम कार्यान्वयनमा उद्योगमन्त्री यादवको जोड, अर्थमन्त्री वाग्लेले दिए आवश्यक सहयोगको प्रतिबद्धता

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा समेटिएका उद्योग क्षेत्रका सुधार कार्यक्रमलाई समयमै कार्यान्वयन गर्न उद्योग मन्त्रालय सक्रिय बनेको छ। अर्थ मन्त्रालयमा आयोजित छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले कानुनी र नीतिगत सुधारका काम कार्यतालिकाअनुसार अघि बढाइने बताइन्।

अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा भएको छलफलमा मन्त्री यादवले उद्योग मन्त्रालयअन्तर्गत बजेटमा आठ वटा प्रमुख सुधार कार्यक्रम समावेश रहेको जानकारी दिइन्। तीमध्ये केही कार्यक्रम कार्यान्वयन प्रक्रियामा गइसकेको र बाँकीलाई चरणबद्ध रूपमा अघि बढाइने उनको भनाइ थियो।

उनले सुधारका योजना प्रभावकारी बनाउन अर्थ मन्त्रालयसँग प्राविधिक सहयोग र निरन्तर समन्वय आवश्यक रहेको बताइन्। मन्त्रालयको जिम्मेवारीभित्र पर्ने काम समयमै सम्पन्न गर्न दुवै मन्त्रालयबीच सहकार्य जारी रहने उनले उल्लेख गरिन्।

छलफलमा अर्थमन्त्री वाग्लेले उद्योग क्षेत्रसँग सम्बन्धित कानुनी तथा नीतिगत सुधारलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गर्दै आवश्यक विज्ञता, स्रोतसाधन र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

बजेटमा कम्पनी ऐन संशोधन, दामासाहीसम्बन्धी ऐन परिमार्जन, उधारो असुली ऐन तथा बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी नयाँ कानुन निर्माणलगायत आठ वटा सुधार कार्यक्रम समावेश छन्। अर्थ मन्त्रालयले बजेट कार्यान्वयनको प्रगति नियमित रूपमा समीक्षा गर्ने जनाएको छ।