काठमाडौँ । रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पौडेलमाथि कालो पदार्थ प्रहार भएको छ। गढीमाई नगरपालिका–४ मा स्थानीयसँग भेटघाट गरेर फर्किने क्रममा केही युवाले पछाडिबाट कालोमोसो फ्यालेको सांसद पौडेलले बताएका छन्।
बिहीबार राति करिब ८ बजे कार्यक्रम सकेर फर्कने क्रममा घटना भएको हो। पौडेलका अनुसार मधेसी मुक्ति अभियानका कार्यकर्ताले नाराबाजी गर्दै झन्डासहित आएर आफूलाई लक्षित गरी कालो पदार्थ प्रहार गरेका थिए।
घटनापछि उनीहरू उखुबारीतर्फ भागेको र उनीहरूको पहिचान भइसकेको सांसद पौडेलले जानकारी दिए। उनका अनुसार समूहले मेचीदेखि महाकालीसम्मको भूभाग मधेस भएको भन्दै नारा लगाएका थिए भने केही पर्चासमेत फ्यालेका थिए।
पौडेलले आफूलाई साँझ मुस्लिम समुदायको शव गाड्ने स्थान (कबरदाह) हेर्न आग्रह गरिएको तर समय ढिलो भएकाले अर्को दिन जाने बताएका थिए। त्यसपछि उक्त समूह नै नाराबाजी गर्दै आएको हुन सक्ने उनको भनाइ छ।