काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदका स्वकीय सचिवको नियुक्ति, पारिश्रमिक र कार्यसम्पादनलाई व्यवस्थित बनाउन नयाँ मार्गदर्शन जारी गर्दै आर्थिक अनियमितताप्रति कडा नीति अपनाएको छ।
महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी सूचनाअनुसार स्वकीय सचिवको पारिश्रमिकबाट कुनै पनि प्रकारको रकम कट्टा, असुल वा हिनामिना गर्न नपाइनेछ। पारिश्रमिक सिधै सम्बन्धित स्वकीय सचिवको बैंक खातामा जम्मा हुने व्यवस्था सुनिश्चित गर्न सांसदहरूलाई निर्देशन दिइएको छ।
नयाँ व्यवस्थाअनुसार स्वकीय सचिवको बायोडाटा र शैक्षिक योग्यताका प्रमाणपत्र संघीय संसद् सचिवालय तथा पार्टीको केन्द्रीय कार्यालयमा दर्ता गराउनुपर्नेछ। सांसदले कार्यसम्पादनको नियमित मूल्याङ्कन गरी आवधिक प्रतिवेदन संसदीय दलमा बुझाउनुपर्ने तथा गोपनीय सूचना सुरक्षित राख्न स्वकीय सचिव बाध्य हुने उल्लेख छ।
रास्वपाले नातेदार नियुक्त गर्ने, कागजी रूपमा मात्र स्वकीय सचिव देखाएर सुविधा लिने वा आर्थिक हिनामिना गर्ने कार्यलाई गम्भीर अनुशासन उल्लङ्घन मानेर तत्काल कारबाही गर्ने जनाएको छ। कार्यसम्पादन कमजोर भए, आचारसंहिता उल्लङ्घन गरे वा गोपनीयता भंग गरेमा सम्बन्धित सांसदले स्वकीय सचिवलाई पदमुक्त गर्न सक्ने व्यवस्था पनि गरिएको छ।
यससँगै पार्टीले स्वकीय सचिव नियुक्तिका लागि साझा र आधिकारिक विज्ञापन ढाँचा तयार गरी सबै सांसदले अनिवार्य रूपमा सोही प्रक्रिया अपनाउनुपर्ने व्यवस्था गरेको छ।
