काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले आफ्नो स्वकीय सचिवमा नातेदारलाई राख्न नपाउने भएका छन् । रास्वपाले जारी गरेको निर्देशनमा सांसदहरूले राख्ने स्वकीय सचिव नियुक्त गर्दा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ ।
एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने र परिवारभन्दा बाहिरबाट योग्य व्यक्ति छनोट गर्नुपर्ने व्यवस्था गरिएको छ । यसका लागि संसदीय दलले एउटा साझा विज्ञापन ढाँचा तयार गर्ने र सोही आधारमा मात्र आवेदन माग गर्नुपर्ने व्यवस्था गरिएको छ।
स्वकीय सचिव नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीतिअनुरूप नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको जनाउँदै यो नियुक्ति पारिवारिक परिधिभन्दा बाहिरबाट मात्र हुनुपर्ने पार्टी महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।