काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघ बीच वार्तामार्फत सहमति भएपछि एन्फा मुख्यालयमा लगाइएको ताला खोलिएको छ।
खेलाडी संघले अघि सारेका मागमा सहमति जुटेपछि मंगलबार खेलाडीहरूले एन्फा परिसरमा लगाएको तालाबन्दी हटाएका हुन्। आइतबार खेलाडीहरूले विरोध प्रदर्शन गर्दै तीन बुँदे मागसहित एन्फा कार्यालयमा तालाबन्दी गरेका थिए।
खेलाडी संघले सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनको सुनिश्चितता र लिगको मिति तत्काल घोषणा गर्नुपर्ने माग राखेको थियो। साथै खेलाडी अक्षय कोषको विस्तृत विवरण सार्वजनिक गर्न र सन् २०१७ देखि बाँकी रहेका खेलाडीहरूको तलब, भत्ता तथा पुरस्कार रकम उपलब्ध गराउनुपर्ने माग पनि अघि सारेको थियो।
खेलाडी संघका अनुसार पटकपटक वार्ता र आन्दोलनका बाबजुद मागहरू बेवास्ता भएपछि दबाबस्वरूप तालाबन्दी गर्नुपरेको थियो। यसअघि सोमबार एन्फाले विज्ञप्ति जारी गर्दै तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो।