काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जननिर्वाचित प्रतिनिधिहरूलाई मुलुकको विकास, सुशासन र समृद्धिका लागि एकताबद्ध भएर काम गर्नुपर्ने ठूलो जिम्मेवारी आएको बताएका छन्।
निर्वाचन आयोग नेपाल द्वारा बुधबार आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय र समृद्धिको अपेक्षालाई व्यवहारमा रूपान्तरण गर्नु जनप्रतिनिधिको प्रमुख दायित्व भएको उल्लेख गरे।
उनले लोकतन्त्रमा विचार फरक भए पनि राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपाली एक हुनुपर्ने विश्वास व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्य जनताको जीवनस्तर उकास्नु रहेको बताए।
साथै, आयोगले यसपटक मतदाता सहभागिता वृद्धि, मितव्ययिता, पारदर्शिता, आचारसंहिताको प्रभावकारी कार्यान्वयन र हरित निर्वाचन अवधारणामा उल्लेखनीय काम गरेको भन्दै प्रशंसा पनि गरे।