काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद् को सिंहदरबारमा बसेको बैठकले बिहीबार तीन महत्वपूर्ण निर्णय गरेको छ।
बैठकले एकीकृत पानी तथा ढल व्यवस्थापन परियोजनाका लागि एसियाली विकास बैंक (ADB) बाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सम्झौता अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।
त्यसैगरी, महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४–३–०–० जग्गा राष्ट्रपतिको नाममा हस्तान्तरण गर्ने पुरानो निर्णय संशोधन गर्दै उक्त जग्गा पुनः प्रतिष्ठानले नै प्रयोग गर्ने निर्णय गरिएको छ।
यस्तै, सरकारी निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधिको अध्ययनका लागि सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।